काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले समता एजुकेसन फाउन्डेसनलाई सहयोग गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रकम प्रदान गरेको हो ।
कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सन्जेललाई एक समारोहकाबीच १० लाख रूपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपाल लाइफका सञ्चालक अग्रवालले मासिक एक सय शुल्क लिएर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको समता एजुकेसन फाउन्डेसनकोे संस्थापक लगायत व्यवस्थापनलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले देशको कर्णधार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानगर्न सके राष्ट्रले दक्षजन शक्ति प्राप्त गर्ने बताएका थिए ।
त्यस्तै, कार्यक्रममा बोल्दै समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सन्जेलले २३ वर्षको इतिहास बोकेको समतामा आजको दिनमा देशको ७७ वटै जिल्लामा करिब ३० हजार विद्यार्थीहरू अध्ययन गर्दै आएको जानकारी गराए ।