२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने

Nada
२०८१ मंसिर १९ गते १८:३२
Shares
क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने

काठमाडौंः हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्नेगरी मर्मतसम्भार तालिका तय गरिएको छ ।

ncell

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्कस्) मा ठूलो क्षति पुर्‍याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो ।

दुई वटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको आयोजनाले जनाएको छ । यसका लागि आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिनेछ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गर्ने काम समानान्तर रुपमा अगाडि बढाइनेछ ।

दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रूमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइनेछ । यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सीईओ ) सहितको टोलीले आज आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो ।

टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ । विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

हिउँदयाममा विद्युत्गृह चलाउन नसकेमा आन्तरिक रुपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिटो विद्युत्गृहलाई सञ्चालनमा ल्याउन अपनाउनुपर्ने उपायहरू तय गर्न स्थलगत अनुमगनमा गएको हो । कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोसीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे । 

‘आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय)को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमासमेत आयात गर्न अनुमति पाएका छैनौँ, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोसी आएन भने अप्ठ्यारो अवस्था आउने छ’, घिसिङले भने ।

अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट) हरू खुला गरिएको थियो । जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । कम्पनीका सीईओ  मोहनप्रसाद गौतमले मर्मतसम्भारका हरसम्भव उपायहरू अवलम्बन गरी तय गरेको तालिकाबमोजिम विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताए।

ताजा खबर

सम्बन्धित खबर