सौरभ यादव/मध्यान्ह
राजविराज :
हमरे डाला पनपथिया सँ,
देबतो पितर पूजाई छै ।
कहु यौ बाबु तैयो हमर
देहिन किया छुवाई छै ।।
मेहेनत हमर चलै छै सगरो,
मुद्दा चलै नै पाइन यौ.......
यो मैथिली भाषाको गीत हो । दलितमाथि भइरहेको सामाजिक विभेदलाई गीतकार धीरेन्द्र प्रेमर्षीले शब्दमा उतारे । गायक रामा मण्डलले स्वर दिए । गायिका रूपा झाले रामाको स्वरमा स्वर थपिन् ।
दलितहरूको तत्कालीन परिस्थितिलाई इंगित गर्दै उनले गीत गाएका थिए । राजतन्त्र हुँदै देश गणतन्त्रमा आइसक्यो । तन्त्र फेरियो तर, दलित अझै पनि छुवाछुतबाट प्रताडित छन् । गीतमा भनिएको छ, ‘मेरै डाला ढाँकीले इश्वर पूजिन्छ, तै पनि मेरो जीउ किन छोइन्छ । मेहेनत मेरो सबै ठाउँमा चल्छ, तर पानी किन चल्दैन ?’
मूर्तिकला पेशालाई नै जीविकोपार्जनको माध्यम बनाएर अघि बढेका सप्तरीको दलित समूदायद्वारा तयार पारिएको माटाका मूर्ति देउता घरमा पुगेपछि आफैले छुन नपाउँदा दलित मूर्तिकारहरुले यो गीत सुनाउँदै दुःखी तुल्याएको छ ।
तराई मधेशमा विद्यमान रहेको जातीय छुवाछुतका कारण आफैले दिनरात मेहेनत गरेर तयार गरेको मूर्तिसमक्ष आफ्नै शरीर अछुत भएपछि उनीहरुलाई पिरोलेको छ । सप्तरीको खडक नगरपालिका वडा नं ११ बनौलीका बुधेश्वर रामले मूर्तिकलामा लागेको दुई दशक अर्थात २० भयो । बाल्यकालदेखि नै मूर्तिकलामा निकै रुची राखेका रामले प्रशिक्षण विना नै १३ वर्षकै उमेरदेखि आकर्षक र मोहित पार्ने खालका माटाका मूर्तिहरु बनाउन थाले ।
आर्थिक अवस्था निकै कमजोर रहेका कारण रामले प्रविणता प्रमाणपत्र तहसम्म मात्रै शिक्षा हासिल गरेर मूर्तिकला पेशालाई नै जीविकोपार्जनको माध्यम बनाए । अहिले उनी जिल्लामै अब्बल मूर्तिकारको रुपमा परिचित छन् ।
वसन्त पञ्चमी, दशैं, लक्ष्मी पुजा, विश्वकर्मा पुजा लगायत चाडवाडको बेला रामले मूर्ति बेचेरै वार्षिक ५–७ लाख रुपैयाँसम्म आयआर्जन गरेर परिवार धान्दै आएका छन् । तर, तराई मधेशमा विद्यमान रहेको जातिय छुवाछुतका कारण आफैले दिनरात मेहेनत गरेर बनाएको मूर्ति देउता घरमा पुगेपछि आफ्नै शरीर अछुत भएपछि उनलाई पिरोलेको छ ।
मुलुक जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा भएको यतिका वर्ष वित्दा पनि कार्यान्वयन गर्ने गराउनेतर्फ राज्यले ध्यान नदिँदा आफु जस्ता परिश्रम गरेर जिविकोपार्जन गर्दै आएका दलित समूदायका युवाहरुलाई समस्या हुने गरेको रामको गुनासो छ ।
दलित समूदायलाई छुवाछुत गर्नेहरुलाई कानूनी दायरामा ल्याएर आफुहरुको जनजीवन सहज पार्नेतर्फ ध्यान पु¥याउन रामले तीन तहकै सरकारकासाथै यस क्षेत्रमा कार्यरत संघ संस्थाहरुसँग आग्रह समेत गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies