दोहा, कतार : अनेकन कोसिसका बाबजुद सफल हुन सकिएन भने मानिस भगवानको शरणमा पुग्ने गर्दछ । आम मानिसले जीवनका दुःख चिर्न के–के गर्छ, के कस्ता पीडा सहेर बाँचेको हुन्छ र दुःखको सारथी भगवान् भन्दा अरू हुन सक्दैन भन्ने कथा समेटिएको गीत ‘क्यार नि होला खोइ’ सार्वजनिक भएको छ ।
म्याग्दी जिल्लामा जन्मिएर बागलुङ बसाइ सरेका लोकप्रिय युवा गायक तथा सर्जक दिपेन थापाको शब्द संगीतमा तयार भएको गीतले सामाजिक सञ्जालमा सार्वजनिक भयसँगै चर्चा कमाइ रहेको छ । ‘नराम्रो गर्दा सबलाई थाहा हुनी, राम्रो गर्दा पनि सबलाई डाहा हुने, पीडा थपिने र पीडा बढ्ने क्यार नि होला खोइ’ भन्दै शब्दजाल उनेका थापासँगै सुजन जिसीले गीतमा आवाज भरेका छन् ।
कृष्ण केसीले संगीत संयोजन गरेको गीतको भिडियोको निर्देशन स्वयं थापाले गरेका हुन् । गणेश सापकोटाले खिचेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन् भने म्युजिक भिडियोलाई अस्मिता रनपालले कोरियोग्राफी गरेकी छन् । राज सुवेदी नेत्रको युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा गायक थापासहित राज, दिपाशा चन्द्र, निहारिका थापा र दीक्षा आचार्यले अभिनय गरेका छन् ।
थापाका ‘सुन हो कि फलाम’, ‘बागलुङ बजार’, ‘सातै दिन’, ‘कालिका तिमीलाई’, ‘आँसु नमाग’, ‘पानी के लाई पछ्यौरी धुनलाई’, ‘सुन्तली’लगायतका गीतहरू चर्चामा छन् ।