काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बाैं रूपैयाँ भुक्तानी पाउन सकेका छैनन् । गत आवकै भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरूको दाबी छ ।
सो अवस्थामा अर्थमन्त्री पौडेलले एक साता भित्र निर्माण व्यवसायीको भुक्तानी फर्छ्यौट हुने बताए । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना भएको ‘विकास बजेटको परिचालन : सरकार र निजी क्षेत्रको भुमिका’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘आज शनिबार (बिदा) भइहाल्यो, तपाईंहरूको भुक्तानी बाँकी कुन–कुन मन्त्रालय र निकायमा छ, भोलि (आइतबार) जानुस्, भोलि नै भुक्तानी हुनेछ । भोलि भएन भने पर्सि (सोमबार) त भुक्तानी हुनेछ । ढिलोमा पनि एक सातामा भुक्तानी हुनेछ । त्यसरी पनि भुक्तानी पाउनु भएन भने म कहाँ आउनुस्, त्यसपछि बसेर छलफल गरी उचित निकास निकाल्नेछौं,’ उनले भने, ‘तर, बक्यौता कति हो भन्नेमा अन्योल छ । मेरो तथ्यांक एउटा छ । तपाईंहरुले भन्ने गरेको बक्यौता रकम फरक छ । बक्यौता कहाँ कति हो, निक्र्याेल गर्नुस । भुक्तानीको समस्या हुदैन ।’
यस्तै, उनले निर्माण व्यवसायीलाई ऋण भुक्तानीका लागि म्याद थप गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गरेर उचित निकास निकाल्ने बताए । निर्माण व्यवसायीले ऋण तिर्नुपर्ने म्याद यही मंसिर मसान्तसम्म रहेको छ । यस्तै, सरकार र निर्माण व्यवसायीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा पनि स्पष्ट हुनुपर्ने उनले बताए । ‘हामीले एक अर्कालाई दोष दिएर समस्या समाधान हुदैन । सरकार र निर्माण व्यवसायीको सम्बन्ध राम्रो हुनुपर्छ । हामी नदीका दुई किनारा होइनौं । हामी एउटै डुंगामा अघि बढ्नुपर्छ,’ उनले भने, ‘यहाँहरू आफुलाई सरकार भनेर बुझ्नुस । हामी आफूलाई व्यवसायी भनेर सम्झन्छौं । अनि समस्या समाधान हुन्छ ।’