रियाद : नेपाल सरकारले अघि बढाएको सामाजिक सुरक्षा कोषमा साउदी अरेबियामा कार्यरत नेपाली कामदारले चासो देखाएका छन् । नेपाली राजदूतावास रियादले शुक्रबार कोषका कार्यकारी निर्देशक कविराज अधिकारीलाई आमन्त्रित गरेर विशेष फेसबुक लाइभ कार्यक्रम गरेको थियो ।
साउदी अरेबियाको राजधानी रियादमा भइरहेको एसिया प्यासिफिकका सामाजिक सुरक्षाको क्षेत्रीय फोरममा भाग लिन रियाद पुगेका कोषका कार्यकारी निर्देशक अधिकारीले केही इच्छुक कामदारले राखेका चासो र प्रश्नहरूको जबाफ दिए ।
उनले सामाजिक सुरक्षा कोषमा जोडिनुको महत्त्व, यसमा आबद्ध हुने प्रक्रिया र प्राप्त हुने सेवा, सुविधाहरूसम्बन्धी विस्तृत जानकारी दिए । उनले कोषमा योगदानकर्ताले कस्मेटिक सर्जरी, मोटोपन घटाउन शरीरबाट बोसो निकाल्ने र दाँत चम्किलो बनाउनेबाहेकका सबै रोगमा उपचार खर्च सुनिश्चित गरिएको जानकारी दिए ।
उनले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना संचालनबारे पनि जानकारी दिए ।
साउदी अरेबियामा कार्यरत श्रमिकहरूले श्रमिकहरूको सूचीकरण, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच, अनलाइनबाट कोषमा जोडिने प्रक्रियाजस्ता व्यावहारिक विषयमा जिज्ञासा राख्दै जानकारी माग गरे । जबाफमा कार्यकारी निर्देशक अधिकारीले कोषले फेसबुकमा फिडब्याक माग गरेको भन्दै कोषले गर्ने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह मिलाएकाले कोषमा आवद्व हुन ढिलाइ नगर्न आग्रह गरे ।
नेपाली कामदारले कोषमा मासिक रूपमा २ हजार ३०८ रुपैयाँ योगदान गर्नुपर्ने व्यवस्था छ । मोबाइलको एप्समार्फत अनलाइन दर्ता हुन नपाएको कामदारको गुनासोमा कार्यकारी निर्देशक अधिकारीले कोषले अनलाइन भुक्तानीको व्यवस्था गर्न लागेको जानकारी दिए । उनले एकै पटक २ वर्षको रकम जम्मा गर्नुपर्ने जानकारी दिँदै २ हजार ३०८ रुपैयाँभन्दा बढी भए पनि खेर नजाने र अन्तिम भुक्तानी लिँदा ब्याजसहित पाइने बताए ।
उनले कोष नाफा कमाउन खोलिएको संस्था नभएको भन्दै शंका, उपशंका नगरी निरन्तर रकम जम्मा गर्न आग्रह गरे । कामदारहरूले कोषमा जोडिन राष्ट्रिय परिचयपत्र नहुँदा समस्या रहेको गुनासो गरे । सरकारले कम्तीमा १ वर्ष योगदान गर्ने कामदारलाई स्वदेश फर्किंदा ल्याउने एक सेट टेलिभिजनको भन्सार छुट दिएकाले त्यसको लाभ लिन पनि आग्रह गरे ।