२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

मायाको चिनो ‘रायो साग’

मध्यान्ह
२०८१ मंसिर २४ गते ११:३४
मायाको चिनो ‘रायो साग’

बागलुङः आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए । बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका पाहुनालाई चोयाको डोरीले बाँधेको रायो सागको मुठा मायाको चिनो हातमा थमाए ।

कलिलो सागको मुठा पाएपछि अतिथिहरु मुस्काउन थाले । वडा कार्यालयले मायाको चिनोका रुपमा गाउँका किसानले उत्पादन गरेको साग दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए । आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको रायो साग कासेलीका रुपमा दिएको वडा अध्यक्ष गौतमले बताए ।

वडा नम्बर ११ स्थित रायडाँडा, तमाखुबारी र धारापानीका किसानले उत्पादन गरेको सागलाई खरिद गरी मायाको चिनोको रुपमा दिएको अध्यक्ष गौतमको भनाइ छ । वर्षौँदेखि यहाँका किसानले रायो साग बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि मायाको चिनो साग हालेर दिइएको अध्यक्ष गौतमले बताए ।

गौतमले भने, ‘रायो साग त हाम्रो वडाको पहिचान हो, यहाँ उत्पादन भएको रायोको साग अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले रायडाँडालाई साग उत्पादनको ‘हब’ हो भनी चिनाउन जरुरी छ, त्यसले गर्दा हामीहरुले बाहिरबाट आउने पाहुनालाई कोसेली तथा उपहारका रुपमा साग दिने गछौँ ।’

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले वडा नम्बर ११ ले राम्रो कामको सुरुवात गरेको बताए । मायाको चिनोमा फजुल खर्च गर्ने प्रचलन चलेको बेला यस वडाले आफ्नो पहिचान बोक्ने चिजलाई उपहार दिन सुरुवात गरेको भन्दै अन्य ग्रामीण क्षेत्रका नागरिकले स्थानीय उत्पादनलाई कोसेलीका रुपमा दिन आवश्यक रहेको बताए । बागलुङ नगरकै सबैभन्दा दुर्गम वडाका रुपमा रहेको रायडाँडा कृषिमा निकै सम्भावना बोकेको भन्दै पालिकाले यहाँका किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइरहेको बताए । 

ADV

सम्बन्धित खबर