२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

स्वास्थ्य परीक्षणमा गडबढी नहोस् : मन्त्री भण्डारी

ADV
मध्यान्ह
२०८१ मंसिर २५ गते ०६:४०
स्वास्थ्य परीक्षणमा गडबढी नहोस् : मन्त्री भण्डारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा कुनै सम्झौता नहुने बताएका छन् । नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं साधारणसभामा उनले उक्त धारणा राखेका हुन् ।

नेपालमा हजारौं अस्पताल र स्वास्थ्य संस्था संचालन भएका अवस्थामा सीमित संस्थालाई सूचीकरण गरी वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि अनुमति दिनुको अर्थ स्वास्थ्य परीक्षणमा शुद्धता र प्रामाणिकता होस् भन्ने नै रहेको उनले बताए ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक प्रचण्ड गर्मी (हिट ट्र्याप) र अस्वाभाविक ऋण (डेप्थ ट्र्याप)को समस्यामा रहेका भन्दै मन्त्री भण्डारीले ऋणको पासोबाट बचाउन वैदेशिक रोजगारीको लागत परिभाषित गरी फ्रि भिसा फ्रि टिकट नीतिको व्यावहारिक कार्यान्वयन गर्ने र डेथ ट्र्यापबाट बचाउन मन्त्रालयले गठन गरेकोे स्वास्थ्य परीक्षणसम्बन्धी उच्चस्तरीय कमिटीले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने बताए ।

मन्त्री भण्डारीले गलत गर्नेहरूका सम्बन्धमा सरकारले टुलुटुलु हेरेर नबसी कडा कारबाहीमा जाने बताए । उनले भने, ‘सरकारले व्यवसाय गर्दैन, व्यवसायी इमानदार नभए सरकारले कडाइ गर्ने छ । यसमा ध्यान दिनुहोला ।’

मन्त्री भण्डारीले स्वास्थ्य परीक्षण रिपोर्ट पूर्ण रूपमा डिजिटाइजेसन गरेर समस्याको समाधान गर्ने भन्दै वैदेशिक रोजगार बोर्ड अनुगमनमा उत्रिनु आवश्यक रहेकामा जोड दिए ।  

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाले देशकै प्रतिनिधित्व गर्ने भएकाले स्वास्थ्य परीक्षण तल–माथि हुँदा देशको प्रतिष्ठा र कामदारको आर्थिक क्षति हुने भएकाले गम्भीर हुन व्यवसायीलाई आग्रह गरे ।

‘गलत स्वास्थ्य प्रतिवेदन दिने प्रवृत्ति बढेको छ’, यसअघि श्रम मन्त्रालयका सचिव रहिसकेका मुख्य सचिव अर्यालले भने, ‘यसका लागि महासंघ नै जिम्मेवार हुनुपर्छ ।’ मुख्य सचिव अर्यालले पनि स्वास्थ्य परीक्षणको डिजिटाइजेसन खराबी रोक्ने उपाय हुन सक्ने बताए ।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रहेका पूर्व श्रम सचिव घनश्याम उपाध्यायले स्वास्थ्य परीक्षण व्यवसायलाई गुणस्तरीय र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । साधारणसभामा श्रम सचिव मुकुन्दप्रसाद निरौला, नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत मोहम्मद फिर्दाैस अजमानलगायतले शुभकामना व्यक्त गरे ।

महासंघ अध्यक्ष कैलाश खड्काले सरकारको मापदण्डअनुसार स्वास्थ्य परीक्षणका लागि महासंघमा आवद्व व्यवसायी प्रतिबद्व रहेको भन्दै सोहीअनुसार स्वास्थ्य परीक्षण गरेकाले मन्त्रालयसँग विगत १९ वर्षदेखि सहकार्य रहेको उल्लेख गरे । उनले स्वास्थ्य व्यवसायलाई गुणस्तरीय पारदर्शी, मर्यादित र व्यवस्थित बनाऔं भन्ने महासंघको मूल ध्येय रहेको उल्लेख गर्दै मेडिकल रिपोर्टको डिजिटाइजेसन नै बजारमा देखिने खराबी रोक्ने उपाय हुने टिप्पणी गरे ।

स्वागत मन्तव्य राख्दै महासंघका बरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठले स्वास्थ्य परीक्षणको डिजिटलाइजेसन गर्न माग गरे । कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, नेपाल अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतम, रेडियोलोजिस्ट चिकित्सक स्वयम्भू पण्डितलगायतको उपस्थिति थियो । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise