काठमाडौं : नबिल बैंकले सामाजिक उद्यमशीलता अन्तर्गत, नबिल स्कूूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको स्कूूल अफ म्यानेजमेन्टमा चौथो ब्याचको फेलोसिप कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियु)सँगको सहकार्यमा सञ्चालित यस कार्यक्रममा उद्यमीबन्न चाहने २० जनाले सहभागिता जनाएका छन् । नबिल बैंकले सामाजिकउद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका, तथा उद्यमशील क्रियाकलापमा संलग्न नवउद्यमलाई आवश्यक ज्ञान र मार्ग निर्देशन प्रदान गर्ने उद्देश्य राखेर कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
चौथो चरणको फेलोसिप कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंक केवल निक्षेप संकलन र कर्जा लगानीमा मात्रै केन्द्रित रहँदै आएकोमा क्रमशः दायरा विस्तार गरेको बताए । उनले नबिल बैंक समाजमा उद्यमशीलता विकासमा अग्रसर भएको प्रतिक्रिया दिए । नबिल बैंकका सञ्चालक निर्वाण चौधरीले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई सधैँ उत्कृष्ट प्लेटफर्म नबिलले प्रदान गर्दै आएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यक्तित्वहरूको सहयोग लिएर पनि बैंकले उद्यमशीलता क्षेत्रमा काम गरिरहेको स्मरण गराए ।
सो फेलोसिपमा सहभागीहरूलाई आवश्यक सबै प्रकारका सल्लाह परामर्श प्रदान गरिने उनले बताए । फेलोसिपका २० सहभागीमध्ये ११ जना महिला छन् । सहभागीहरू काठमाडौंका ८, ललितपुरका ३, भक्तपुरका ३ र खोटाङ, रुपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाँचीका ६ जना रहेका छन् । नबिल एसएसई कार्यक्रम मार्फत हालसम्म ५६ जना सामाजिक उद्यमीलाई प्रशिक्षित गरेको जनाएको छ ।