२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

‘पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु’

ADV
मध्यान्ह
२०८१ मंसिर २६ गते २१:००
‘पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु’

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजीबजारको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा बुधबार आयोजित स्वागत कार्यक्रमा उनले पुँजीबजारका लगानीकर्ताको मनोबल उच्च बनाइराख्नका लागि सेबोनले सबै सरोकारवाला संस्थासँग सहकार्य गर्ने समेत उल्लेख गरे । 

‘अहिले पुँजीबजारको दायरा विस्तार र सरकारवालाको भूमिका पनि बढाउँदै लैजानुपर्ने आवश्यकता छ, यसका लागि सेबोन तयार छ’, उनले भने । उनले शेयर बजारबारे सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिनेलाई नियमन गर्नका लागि समेत सेबोनले तयारी गरेरहेको जानकारी दिए । 

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष सागर ढकालले यी चार वटै संस्थाको उद्देश्य मुलुकको आर्थिक विकास र रोजगारी सृजना रहेकाले एकजुट हुन आवश्यक रहेको बताए । ‘पुँजीबजारको विकासका लागि यी सबै संस्थाबीच सहकार्य र समन्वय आवश्यक छ’, उनले भने, ‘धितोपत्र बोर्डले पनि हालै नयाँ नेतृ्त्व पाएकाले उहाँको कार्यकालमा पुँजीबजारले नयाँ फड्को मार्ने हाम्रो अपेक्षा छ ।’ पुँजीबजार क्षेत्रका यी तीन वटै संस्थाले एकै समयमा नयाँ र युवा नेतृत्व पाएकाले बजारको विकासका लागि यो नेतृत्वमा एतिहासिक काम गर्ने जिम्मेवारी आएको उनको भनाइ थियो । 

मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष रमेन्द्र रायमाझीले पुँजीबजार अहिले विकासको क्रममा रहेको उल्लेख गरे । धितोपत्र बोर्डले लामो समयपछि हालै नयाँ नेतृत्व पाएकाले बजारको विकासका लागि ढिलाइ गर्न नहुने र अध्यक्ष श्रेष्ठको नेतृत्वमा सेबोनले नयाँ फड्को मार्ने अपेक्षा रहेको उनको भनाइ थियो । पुँजीबजारलाई अगाडि बढाउन आफू र आफ्नो संस्था धितोपत्र बोर्ड, स्टक ब्रोकर संघ तथा सञ्चारमाध्यमसँग सहकार्य गर्न तयार रहेको बताए । 

शेयर बजार आर्थिक विकासको पनि आधार भएको र सबैको लक्ष्य एउटै भएकाले एकजुट हुन जरूरी रहेको उनले उल्लेख गरे । ‘पुँजीबजारका लगानीकर्ताको मनोवल र विश्वास बढाउन आवश्यक छ, यसका लागि आमरूपमा जनचेतना फैलाउनु छ’, उनले भने, ‘यसका साथै डिजिटाइजेसनका क्षेत्रमा पनि धेरै काम गर्न आवश्यक छ ।’ 

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) का अध्यक्ष रामराजा श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि सञ्चारमाध्यम र सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise