काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले श्रम मन्त्रालय वैदेशिक रोजगार क्षेत्र सँगसँगै आन्तरिक रोजगारीको संख्यामा गुणात्मक परिवर्तनका लागि काम गरिरहेको जानकारी दिएका छन् ।
‘सीप विकासका लागि हाम्रो प्रतिबद्धता, समृद्ध राष्ट्रको सुनिश्चिता’ भन्ने नारासहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीले काठमाडौंमा बुधबार रोजगार प्रवद्र्धन गर्ने अभिप्रायले सरोकार भएका निकाय तथा रोजगारदातासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले उक्त धारणा राखेका हुन् ।
मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गरिएको र उक्त महाशाखाले मुलुकभित्रका रोजगारीका सम्भावनाहरूलाई प्रवद्र्धन गरी अगाडि बढाउने काम गर्ने मन्त्री भण्डारीले उल्लेख गरे ।
रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र भएको बताउँदै मन्त्री भण्डारीले संसारभर नागरिकलाई सरकारले नभई निजी क्षेत्रले रोजगारी दिने भएकाले सरकारले सुविधा दिएर निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्न अभिप्रेरित गर्ने बताए । त्यसैगरी मन्त्री भण्डारीले अहिलेको प्रविधिलाई प्रयोग गरेर सबै सेवा फेसलेस र पेपरलेस बनाउने काममा अघि बढिरहेको बताए ।
निजी क्षेत्र व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालको लोकप्रियभन्दा अध्ययनमा आधारित दीर्घकालीन निर्णय लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीको ध्यानाकर्षण गराएका छन् ।
सरकारले चर्चा कमाउनका लागि कुनै निर्णय गर्न नहुनेमा ध्यानाकर्षण गराउँदै उनले भने, ‘चर्चाका लागि गरिने निर्णयले नतिजा आउन सक्दैन, त्यसले क्षणिक चर्चा र फाइदा मात्र हुने हो ।’
‘म मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु’, अध्यक्ष ढकालले भने, ‘पपुलर डिसिजन भन्दा पनि रियल डिसिजन राम्रो हुन्छ । फ्रि टिकट, फ्रि भिसा भनेको नेपालीको मात्र होइन, बंगलादेश, पाकिस्तान पनि छन् । कहिलेकाहीँ पपुलर नाराका लागि हामीले वास्तविक अवस्था भन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौं, त्यसो नगरौं ।’
मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मन्त्रालयका पूर्वसचिव केवलप्रसाद भण्डारीलगायतले नेपालमा रोजगारी सिर्जनामा रहेका नितिगत अस्थिरता अन्त्य हुनुपर्ने सुझाव दिएका थिए ।