लिस्बन : फ्रान्सस्थित नेपाली दूतावासको टोलीले बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न सुरु गरेको छ ।
फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको दूतावासको टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण गर्न सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेर राहदानी वितरण गर्न सुरु गरेको हो ।
गत अगष्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन दिएका आवेदकहरुको तयार भएको राहदानी वितरण गर्न शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ । शिविरमा राहदानी लिने नेपालीको भीड लागेको छ । बिहीबार पहिलो दिन एक सय ४७ वटा ई–पासपोर्ट वितरण गरिएको टोलीले जनाएको छ ।
पोर्चुगलमा रहेका नेपालीको सहजताका लागि लिस्बनमै आएर राहदानी वितरण सुरु गरिएको राजदूत भट्टराईले बताए । ६ दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट दुई हजार पाँच सय ५४ वटा ई–पासपोर्ट वितरण गरिने उनले बताए ।
‘हामीले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा राहदानी वितरणका लागि टोली पठाउने तयारी गरिरहेका थियौं । युरोप भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्रीज्यूले पोर्चुगलमा तत्कालै राहदानी वितरणको व्यवस्था मिलाउन भन्नुभयो’, भट्टराईले भने, ‘मन्त्री ज्यूको निर्देशन बमोजिम हिजोदेखि लिस्बनमा राहदानी वितरण गर्न सुरु गरेका छौँ ।’ टोलीले आज र भोलि दुई दिन राहदानी वितरणसहित अधिकृत वारेसनामा प्रमाणीकरणको सेवा प्रदान गर्ने उनले जानकारी दिए ।
राहदानी विभाग काठमाडौंबाट राहदानी तयार भएको इमेल प्राप्त गरेका सेवाग्राहीलाई समय तालिकाअनुसार शिविरमा आई राहदानी बुझ्न राजदूत भट्टराईले आग्रहसमेत गरेका छन् । राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले गत अगष्टमा राजधानी लिस्बनमा सञ्चालन गरेको ‘घुम्ती सेवा शिविर’बाट ३ हजार आठ सय २९ नेपालीको ई–पासपोर्टका लागि जैविक तथ्यांक संकलन गरेको थियो । जसमा करिब नौ सय ४० वटा राहदानी पेरिसबाटै वितरण भइसकेको दूतावासले जनाएको छ ।