काठमाडौं : लिट्मस इन्डस्ट्रीजले नेपालमा मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन गरेको छ । २० हजार किलोमिटर वार्षिक उत्पादन क्षमता भएको सो प्रविधिले अब आयातमा निर्भरता कम गर्दै, ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्ने र उच्च कार्यक्षमताका भरपर्दा पावर ट्रान्समिसन संरचनाहरूको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार यी कन्डक्टरहरू ईएन५०३९७/ ईज३९८–भीआईअन्तर्गत प्रमाणित छन् । एडभान्स्ड जर्मन प्रविधिको प्रयोगमा आधारित निर्माण प्रक्रियामा उत्कृष्ट इन्सुलेशनका लागि ट्रिपल–लेयर एक्स्ट्रसन, उच्च–गुणस्तरको क्रस–लिंकिङका लागि डीप–वाटर क्युरिङ, र स्पार्क परीक्षण तथा एन्टि–ट्रयाकिङ परीक्षणजस्ता उत्कृष्ट गुणस्तर परीक्षणहरू समावेश छन् ।
११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टरहरू विशेष गरी जंगल क्षेत्रमा आगलागीको जोखिम घटाउने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएको छ । सो उपलब्धिले गुणस्तर, दिगोपन, र प्राविधिक विकासप्रतिको कम्पनीको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीको दाबी छ । लिट्मस इन्डस्ट्रीजले घरायसी तार, औद्योगिक केबल र वातावरण मैत्री हलोजन–रहित इकोवायर लगायत विभिन्न उच्च गुणस्तरीय उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ ।