साउदी अरेबिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबले न्यूनतम तलब कार्यान्वयनमा नआएको भन्दै सरकारी निकाय जिम्मेवार नहुँदा नेपाली कामदार शोषणमा परेका बताएको छ ।
साउदीका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेशविक्रम ढकाल र काउन्सिलर श्रम कविराज उप्रेतीलाई शुक्रबार स्वागत गर्दै एनआरएनए साउदी अरेबियाले सो कुरा बताएको हो ।
एनआरएनए साउदीकी अध्यक्ष रविना अर्यालको नेतृत्वमा शुक्रबार दूतावास पुगेका गैरआवासीय नेपालीहरूले राजदूत ढकाललाई ज्ञापनपत्र बुझाएका छन् । संघले साउदी अरबमा सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने फिफाको निर्णयसँगै रंगशालालगायतका परियोजनामा आकर्षक तलबसहितको रोजगारी सिर्जना हुने भएकाले नेपाली कामदारलाई त्यसको लाभ दिलाउन नेपाली दूतावासको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएको छ । साउदी अरबले विश्वकप फुटबलका लागि ११ वटा रंगशाला बनाउँदै छ ।
नवनियुक्त राजदूत ढकाललाई बुझाएको ज्ञापनपत्रमा संघले फ्रि भिसा, फ्रि टिकटको डिमान्डमा कामदारबाट २ लाख रुपैयाँ असुली गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मौन बसेको आरोप पनि लगाएका छन् ।
संघले साउदीमा अझैसम्म पनि बहुसंख्यक कम्पनीले कामदारलाई दिनुपर्ने मासिक १ हजार रियाल तलब, खानाबापतको ३०० रियाल नदिएकोे र मागपत्र प्रमाणीकरण गर्दा नेपाली दूतावास सचेत र जिम्मेवार हुनुपर्ने, मापदण्ड पालना नभएका मागपत्रहरूलाई तत्कालै अस्वीकृत गर्नुपर्ने माग पनि गरेको छ ।
नेपाल सरकार र साउदी अरेबियाबीच श्रम सम्झौता नभएका कारण नेपालका म्यानपावर कम्पनी र साउदी अरेबियाका रोजगारदाताहरू मिलेर नेपाली कामदारलाई न्यून तलब दिएर शोषण गर्ने गरिएको भन्दै संघले कामदार अलपत्र पार्ने म्यानपावर कम्पनीको धरौटीबाट कट्टा गरी पीडित कामदारलाई क्षतिपूर्ति दिनुपर्ने, श्रम स्वीकृति नवीकरण गरेका कामदार समस्यामा परेमा सकेसम्म रोजगारदाता कम्पनीबाट क्षतिपूर्ति र नभए वैदेशिक रोजगार बोर्डबाट राहत र उद्धार गरिनुपर्ने पनि संघको माग छ ।
ज्ञापनपत्र बुझाउन संघका उपाध्यक्षद्वय हेम सुवेदी, मनीष कोइराला, महासचिव शुक्र मोक्तान, सचिव ध्रुवराज कटुवाल, सदस्यहरू दीपक ढुंगाना, भीम कार्की, काजीमान कन्दङ्वा, अमृत घिसिङ, पूर्वी क्षेत्रका क्षेत्रीय अध्यक्ष विष्णुप्रसाद भण्डारी, सदस्य प्रेम इजम, रियाद क्षेत्रका क्षेत्रीय अध्यक्ष महेश घिमिरे, सदस्य सुजन घिमिरे, अलकासिम क्षेत्रका क्षेत्रीय अध्यक्ष कृष्ण अधिकारी, सचिव सिद्धिलाल श्रेष्ठ नेपाली दूतावास गएका थिए ।
त्यस्तै, युवा संयोजक समिर केसी, मध्यपूर्व संयोजक तथा साउदी अरबका लागि पर्यटन प्रवर्तक राजेन्द्र अर्याल, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यद्वय विशाल श्रेष्ठ, दीपक रेग्मी र राष्ट्रिय समन्वय परिषद् साउदी अरबका संस्थापक महासचिव एवं संरक्षक विमल गौतमलगायतको टोली पनि दूतावास गएको थियो ।