काठमाडौं : भारतको नयाँदिल्लिस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुक नजान नेपालीहरूलाई आग्रह गरेको छ । भारत हुँदै तेस्रो मुलुक जान नेपालीलाई रोक लगाइएको स्मरण गराउँदै उसले अनिवार्य रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न पनि सुझाएको छ ।
वैदेशकि रोजगारीका लागि स्थलमार्गबाट भारत हुँदै तेस्रो मुलुक जाने क्रम बढेपछि भारतले रोक लगाएको थियो । यद्यपि, नेपालीहरूले भारतीय विमानस्थल प्रयोग गर्दै आइरहेका छन् । तेस्रो मुलुक जान नेपालीलाई भारतले गरेको आग्रह पालना नभएपछि नयाँ दिल्लीस्थित दूतावासले पुनः त्यसबारे स्मरण गराएको हो ।
भारतीय विमानस्थलमार्फत विदेश जाने नेपालीलाई विमानस्थलमै रोक लगाइने स्मरण गराउँदै दूतावासले भनेको छ, ‘भारत हुँदै तेस्रो मुलुक जानका लागि नेपालको अध्यागमन विभागले सम्बन्धित कामदारको राहदानीमा प्रस्थान अनुमतिको छाप लगाएको हुनुपर्ने छ । स्थलमार्गबाट जाने नेपालीको पासपोर्टमा प्रस्थान अनुमतिको छाप लगाउने व्यवस्था अध्यागमन विभागले नगरेकाले नेपाली विमानस्थलमार्फत नै गन्तव्यतर्फ जान आग्रह गरिन्छ ।’
विगतमा भारतीय विमानस्थल हुँदै ठूलो संख्यामा घरेलु कामदार खाडीका विभिन्न मुलुकहरूमा तस्करी गरी पठाउने गरिएपछि दूतावासले भारत हुँदै ती खाडी मुलुक जान रोक लगाएको हो । मध्यपूर्वका साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्सलगायत त्यसक्षेत्रका ९ वटा देशहरू भारतीय विमानस्थल प्रयोग गरी जान रोक लगाइएको छ । व्यक्तिगत भिसामा इराक, लिविया र लेवनानदेखि कतार, साउदी यूएई, ओमान र बहराइन जानसमेत भारतीय विमानस्थल प्रयोग हुने गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies