काठमाडौं : नेपालमा आउने वैदेशिक लगानीको प्रतिबद्धताको ठूलो हिस्सा पर्यटन क्षेत्रमा आउने गरेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांकअनुसार सो अवधिमा नेपालमा आएको कुल विदेशी लगानी प्रतिबद्धताको झण्डै दुई तिहाई पर्यटन क्षेत्रमा आएको छ ।
चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा ३१९ वटा विभिन्न उद्योगहरूमा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । जसमध्ये पर्यटन क्षेत्रमा मात्रै सबैभन्दा धेरै ६२ प्रतिशत अर्थात् १२ अर्ब ७६ करोड ६५ लाख ५९ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, समीक्षा अवधिमा सेवा क्षेत्रमा दोस्रो धेरै ४ अर्ब ८३ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ ।
समीक्षा अवधिमा १४५ वटा पर्यटन क्षेत्रमा, १०६ वटा सूचना तथा प्रविधि क्षेत्रमा, ४० वटा सेवा क्षेत्रमा, २२ वटा उत्पादन क्षेत्र र ५ वटा विदेशी कम्पनीले कृषि क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
विभागकाअनुसार चालु आर्थिक वर्षमा आएको कुल लगानी प्रतिबद्धतामध्ये १३८ वटा विभिन्न उद्योगले अटोमेटिक प्रणालीबाट लगानीको स्वीकृति लिएका छन् भने १८१ वटा विभिन्न उद्योगले नियमित प्रकृयाबाट लगानी स्वीकृति लिएका छन् । तथ्यांकअनुसार नेपालमा सुरुवातदेखि हालसम्म ५ खर्ब ४० अर्ब ५३ करोड ९८ लाख ६० हजार ७०५ रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ भने ३ लाख ३७ हजार ५१४ जनालाई रोजगारी दिने ती कम्पनीले प्रतिबद्धता जनाएका छन् ।