काठमाडौं : संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्या घटेको छ । पुसको तुलनामा माघमा संस्थागत बाटो भएर विदेशिनेको संख्या घटेको हो ।
चालू आर्थिक वर्षको पुसमा संस्थागत रूपमा २७ हजार ४ सय ४२ जना वैदेशिक रोजगारीमा गएका थिए । माघमा उक्त संख्यामा २ हजार ३ सय जनाले कमी आएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार, माघमा संस्थागत ढंगले २५ हजार १ सय ७१ नेपाली विदेश उडेका छन् ।
गत वर्षको पुसमा १७ हजार ८ सय ३० नेपाली संस्थागत रूपमा वैदेशिक रोजगारीमा गएका थिए । त्यतिबेला मलेसियाको रोजगारी बन्द रहेको थियो । हाल नेपालले संस्थागत, रिइन्ट्री, व्यक्तिगत र वैधानिकीकरण गरी ४ प्रकारका श्रम स्वीकृतिबाट नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने गरेको छ ।
माघ महिनामा संस्थागत, रिइन्ट्री, व्यक्तिगत, तथा वैधानिकीकरण गरी ४८ हजार ६ सय ७४ जना विदेश गएका छन् । पुसमा सबै प्रक्रिया पूरा गरी ५२ हजार २ सय २५ जना विदेशिएका थिए ।
वैदेशिक रोजगार विभागले तयार पारेको तथ्यांक अनुसार, संस्थागत रूपमा माघ महिनामा सबैभन्दा बढी कामदार मलेसिया गएका छन् । माघमा मलेसिया जाने कामदारको संख्या ८ हजार ९ सय ३४ रहेको छ भने अन्य प्रक्रियासमेत गरेर गएका कामदारको संख्या जोड्दा माघमा १० हजार ५ सय ४४ जना नेपाली कामदार मलेसिया पुगेका छन् ।
मलेसियापछि संस्थागत अर्थात् म्यानपावर कम्पनीबाट नेपाली कामदार क्रमशः साउदी अरब, यूएई र कतार गएका छन् । वैदेशिक रोजगार विभागले माघको २६ दिनको तथ्याक सार्वजनिक गरेको छ । जसअनुसार साउदी अरबमा ५ हजार २ सय ८२, यूएईमा ४ हजार ९ सय ३२ जना र कतारमा ४ हजार २ सय ५५ जना गएका छन् । कुवेतमा १ हजार १ सय ५६ जना गएका छन् । माघ महिनामा रोजगारीका लागि ८२ वटा देशमा नेपाली पुगेका छन् । पुसमा उक्तसंख्या ८४ थियो ।
बैक ग्यारेन्टी र धरौटी गरी २ देखि ६ करोड रूपैयाँसम्म राखी कार्यालय र कर्मचारीसहित कार्यालय सञ्चालन गरेका म्यानपावर कम्पनीहरूले नेपाली कामदार गएका ८२ मध्ये जम्मा १६ वटा मुलुकहरूमा मात्र कामदार पठाउन सकेका छन् । पुसमा उनीहरूले १९ वटा मुलुकमा मात्र कामदार पठाएका थिए । त्यसमा खाडीका साउदी अरब, कतार, मलेसिया र यूएई नेपाली कामदारका प्रमुख गन्तव्य देखिएका छन् ।
माघ महिनामा सस्थागत रूपमा गएका २५ हजार १ सय ७१ कामदारमध्ये उल्लेखित खाडीका तीन र मलेसिया गएको कामदारको संख्या मात्रै २२ हजार ५ सय ६२ छ । प्रतिशतका हिसाबले यो संख्या संस्थागत रूपमा वैदेशिक रोजगारीमा गएका कामदारको करिव ९० प्रतिशत हो ।
युरोप र जापानमा कामदार पठाउन चाहेको भए पनि सरकारी झन्झटका कारण ती मुलुकमा गई बजार प्रवद्र्धन गर्न नसकिएको वैदेशिक रोजगार व्यवसायीहरूको भनाइ छ । माघमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत कामदार गएका अन्य मुलुकमध्ये अफगानिस्तानमा १९ जना रहेका छन् भने उक्त मुलुकमा व्यक्तिगत भिसामा १ सय ८ जना गएका छन् । बहराईनमा ५ सय ६१ जना गएका छन् । ब्रुनाईमा १२ जना, साइप्रसमा २ सय १४ जना, हंङकङमा ११, जापानमा १५ र जोर्डनमा २ सय ३ जना गएका छन् ।
त्यस्तै, मकाउमा ६, माल्टामा १, मरिससमा दुई, ओमनमा २ सय २५, पानामामा १२, पोर्चुगलमा दुई, रोमानियामा १ सय ३६ जना, टर्कीमा ३४ जना गएका छन् । माघमा करिव ४७ हजार नयाँ कामदारको पूर्व स्वीकृति निस्केको छ भने ४९ हजार १ सय ५८ जनाले वैदेशिक रोजगारीमा जान म्यादी बीमा गरेका छन् ।
वैदेशिक रोजगारीमा गएकामध्ये आधाभन्दा बढी कामदार अदक्ष देखिन्छन् । गएका कुल ४८ हजार ६ सय ७४ मध्ये ५ जनामात्र उच्च दक्ष, ४२ जना व्यवसायिक, ४ हजार ४ सय ९१ उच्च दक्ष र १६ हजार ७ सय १९ दक्ष कामदार रहेको विभागको भनाइ छ । अदक्ष कामदारको संख्या २७ हजार ४ सय १७ रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies