काठमाडौं : आकर्षक वैदेशिक रोजगारीका नाममा अनधिकृत विज्ञापन गर्ने क्रम पुनः देखापरेको छ । युरोप तथा क्यानडाको आकर्षक रोजगारीका लागि अघिल्ला वर्षहरूमा प्रकाशित अनधिकृत विज्ञापन रोक्न वैदेशिक रोजगार विभाग र प्रहरीले सक्रियता बढाएका थिए । सरकारको सक्रियतापछि केही समय यो क्रम रोकिए पनि पुनः उस्तै प्रकृतिका विज्ञापन अखबारहरूमा देखिन थालेका छन् ।
हालै शिव पौडेल नामका एक व्यक्तिले क्यानडामा केयरगिभरको आकर्षक रोजगारी भन्दै राजधानीबाट एक राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशित गराएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशकसँगै मातहतको ताहाचलका कर्मचारी फेरबदलको मौका छोपेर पौडेलले राष्ट्रिय दैनिकमै नियमविपरीत विज्ञापन प्रकाशित गरेका हुन् ।
क्यानडाका लागि केयरगिभरको आवश्यकता भन्दै गत ९ गते शुक्रबार छापिएको विज्ञापनमा ८ जना केयर गिभरको माग गरिएको छ । त्यसमा ७ महिला र एक पुरुष कामदार आवश्यक रहेको उल्लेख छ ।
नर्सिङ, हेल्थ असिस्टेन्ट र फिजियो थेरापीमा प्रमाणपत्र तह उत्तीर्ण भई अंग्रेजी भाषाको अन्तर्राष्ट्रिय परीक्षा (आईएलटीएस) मा कम्तीमा ५ अंक लिएको हुनुपर्ने विज्ञापनमा उल्लेख छ । आईएलटीएस नगरेकाहरूले पनि आवेदन गर्नसक्ने तर छनौट भएमा उनीहरूले आईएलटीएस परीक्षा पास गर्नुपर्ने सर्त राखिएको छ ।
आगामी मार्च २० तारेखसम्म आवेदन गर्न सकिने भन्दै विज्ञापनमा सम्पर्कसूत्रबारे जानकारी दिइएको छ । तर सम्पर्कका लागि साँझ ५ बजेदेखि राति ९ बजेसम्मको समय दिइएको छ । मध्यान्ह दैनिकले उक्त नंम्बरमा सम्पर्क गर्दा निरन्तर व्यस्त रहेको भन्दै सम्पर्क हुन सकेन ।
कानूनी प्रावधान के छ ?
वैदेशिक रोजगार ऐनको दफा १६ मा वैदेशिक रोजगारमा कामदार पठाउनु अघि अनिवार्य रूपमा छनौट गर्नुपर्ने व्यवस्था छ । ऐनमै वैदेशिक रोजगार व्यवसाय गर्न वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिनुपर्ने स्पष्ट व्यवस्था छ । यसरी विज्ञापन गर्दा इजाजतपत्र नंम्बरसमेत उल्लेख हुनुपर्ने प्रावधान छ । तर क्यानडाको केयर गिभरको विज्ञापन प्रकाशित गराएका पौडेलले इजाजतपत्र नंम्बर उल्लेख गरेका छैनन् ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा १६ मा वैदेशिक रोजगारीमा कामदार पठाउनुअघि वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिएर विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।
ऐनको दफा १६ मा दफा १५ बमोजिम स्वीकृतिप्राप्त भएपछि इजाजतपत्रवालाले तोकिएबमोजिमको विवरण खुल्नेगरी कामदार छनौट गर्न नेपाली भाषामा प्रकाशन हुने कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिइ विज्ञापन प्रकाशन गर्नुपर्ने र प्रकाशित विज्ञापनको सूचना सम्बन्धित इजाजतपत्रवालाले आफ्नो कार्यालयको सूचना पाटीमा टाँस गरी सो सूचनाको एक प्रति सोही दिन विभागसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
ऐनले इजाजतबिना वैदेशिक रोजगारमा कामदार पठाउने परिकल्पना गरेको छैन । कसैले इजाजतबिनै पठाएमा कडा सजाय हुने व्यवस्था छ । ऐनको दफा १० मा इजाजतपत्रसम्बन्धी व्यवस्था र दफा ४३ मा दण्ड सजायसम्बन्धी प्रावधान छ ।
इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाई दिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाई दिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जनाबापत असुल गर्ने सजाय तोकिएको छ । यतिमात्रै होइन, यस्तो गलत कार्य गर्ने व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था छ । यस्ता अनधिकृत कार्य गर्नेलाई ३ देखि सात वर्षसम्म कैद हुने प्रावधान छ । विदेश पठाइ नसकेको भए त्यसको आधा सजाय हुने व्यवस्था छ ।
विगतमा राजधानी र विशेष गरी पूर्वी तराईका जिल्लाहरूमा यस प्रकारका अनधिकृत विज्ञापन हुने गरेको थियो । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन र नियमावलीविपरीत विज्ञापन प्रकाशन नगर्न प्रकाशन गृहहरूलाई सचेत गराउँदै आएको थियो । विभागले गत कात्तिकमा एक सूचना जारी गर्दै विभागबाट स्वीकृति नलिई केही पत्रपत्रिकामा आकर्षक तलव सुविधासहितका विज्ञापन प्रकाशित गरेर वैदेशिक रोजगारीमा जान चाहने कामदारहरूमाथि भ्रम परेको जनाएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies