नेपाली कांग्रेसका केही युवा नेताले सम्पर्क कार्यालय नै खोलेर पार्टीको १५औं राष्ट्रिय महाधिवेशन समयभित्रै गर्न दबाब अभियान थालेका छन् । महाधिवेशन गर्न दबाब दिन अनामनगरमा सम्पर्क कार्यालय खोल्नेहरू डा.शेखर कोइराला निकटका हुन् ।
डा.शेखरले १४औं राष्ट्रिय महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । तर, दोस्रो पटक पनि कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए । तसर्थ,कांग्रेसमा शेखर संस्थापनइतर पक्षका नेता हुन् । उनी आगामी महाधिवेशनमा सभापति पदका प्रतिस्पर्धी हुनु स्वाभाविक छ ।
तर, सभापतिको तयारी नगरी महाधिवेशन समयमै गरिनुपर्ने एजेन्डालाई मुख्य माग बनाइएको छ । सम्पर्क कार्यालय नै खोलेर दबाब अभियान सुरु गर्नु भनेको १५औं महाधिवेशन आगामी वर्ष हुनेमा शंका गरिनु हो ।
कांग्रेसको विधानमा हरेक ४ वर्षमा राष्ट्रिय महाधिवेशन गरिने व्यवस्था छ । २०७८ पुसमा १४औं महाधिवेशन भएकाले आगामी वर्ष देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल सकिँदै छ । तर, संविधानले ५ वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । अझ विशेष परिस्थिति आए महाधिवेशन गर्न थप ६ महिनाको समय प्राप्त हुने छ ।
यसरी साढे ५ वर्षसम्म कुनै पनि निर्वाचित कार्यसमितिको वैधानिक अवधि हुन सक्छ । सभापति देउवाले यही संवैधानिक व्यवस्थालाई टेकेर पार्टी महाधिवेशन गराउँदैनन् भन्ने इतर पक्षका नेताहरूलाई लागेको छ ।
दबाब अभियानको अर्थ सभापति देउवामाथि शंका नै हो । देउवाले पार्टीको विधानबमोजिम अब तेस्रो कार्यकाल सभापतिमा उम्मेदवार बन्न नपाउने भएकाले पनि कांग्रेसभित्र शंका धेरै छ किनकि सकेसम्म देउवाले कार्यकाल लम्ब्याउने चाहना राख्ने छन् ।
कांग्रेसमा महाधिवेशनको चिन्ता नयाँ पनि होइन । हरेक सभापतिले सकेसम्म आफ्नो कार्यकाल लम्ब्याउन चाहने गरेका छन् । कार्यकाल लम्ब्याउन विधान मिच्नु हरेक सभापतिको परम्परा जस्तै बनेको छ ।
कतिसम्म भने, संस्थापनइतरको असहयोग हुने देखेर नेतृत्वले विभागहरूलाई पूर्णता नदिने, नेताहरूलाई परिभाषित जिम्मेवारी नदिने र समयमा भातृ संस्थाहरूको अधिवेशन नगर्नेजस्ता परम्परालाई निरन्तरता दिने गरेका छन् । एक प्रकारले कांग्रेसभित्र लोकतान्त्रिक अभ्यास आंशिक मात्र छ ।
सभापति जित्नेले विधान बिर्सेर पार्टीमा एकलौटी गर्छ अनि संस्थापनइतरमा रहने पक्षले भने लोकतान्त्रिक अभ्यास मागेर अनेक गतिविधि गर्दै आएका छन् । अहिले सभापति देउवामाथि पनि बलमिच्याइंँ गरी बढ्न खोजेको शंका गरिँदै छ ।
मुुलुकमा लोकतन्त्रका निम्ति जीवनभर लडेका देउवाले पार्टीभित्रैबाट गरिएको यस्तो शंकालाई निवारण गर्नुपर्छ– समयमै महाधिवेशन गरेर ।