२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वास्तविक कलाकारलाई मिडियामा स्थान दिन महिला कलाकारको आग्रह

ADV
मध्यान्ह
२०८१ असार ८ गते १९:१६
वास्तविक कलाकारलाई मिडियामा स्थान दिन महिला कलाकारको आग्रह

काठमाडौं : १२औं नेपाल अफ्रिका फिल्म फेस्टिभल शुक्रबारबाट काठमाडौंको सुन्धारास्थित सिडिसी सिनेमा, सिटिसी मलमा शुरु भएको छ । महोत्सवमा पहिलो र दोस्रो दिन चलचित्र प्रदर्शन तथा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

यसैक्रममा महोत्सवको दोस्रो दिन शनिबार विभिन्न चलचित्रहरुको प्रदर्शनीसँगै बहस कार्यक्रम आयोजना गरियो । शनिबारको बहस कार्यक्रममा मिडियामा महिला कलाकारको स्थानका विषयमा छलफल भएको थियो ।

चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकोटाले छलफल कार्यक्रमको सहजीकरण गरेका थिए । बहसमा अभिनेत्री गौरी मल्ल, कलाकार सरिता लामिछाने, गायिका निशा देसार, सञ्चारकर्मी तथा निर्देशक संगीता श्रेष्ठ सहभागी थिए । बहसमा महिला कलाकारहरुले मिडियामा पाउने स्थान र मिडियाले बनाउने गसिपहरुको बारेमा चर्चा गरियो ।

कार्यक्रममा बाल्दै अभिनेत्री गौरी मल्लले आफूले शुरु–शुरुमा काम गर्दा पत्रपत्रिकामा आएका समाचारले छुट्टै प्रभाव पर्ने गरेको स्मरण सुनाइन् । पहिलाको जस्तो मिडियाको महत्व र प्रभाव आजकाल कम भएको उनको कथन थियो । उनले भनिन्, ‘पहिलेको मिडिया र अहिले डिजिटलमा प्रवेश गरेपछि धेरै फरक भएको छ । यसको फाइदासँगै बेफाइदा पनि छन् ।’ 

कार्यक्रममा कलाकार सरिता लामिछानेले पहिले र अहिलेको मिडिया र कभरेज फरक परेको र अहिले भाइरलको पछि सबै लागेको बताउँदै भाइरलले दिगोरुपमा कसैलाई फाइदा नपुग्ने बताइन् । भाइरल भन्दा यो क्षेत्रमा निरन्तर काम गरिरहेका कलाकारलाई मिडियाले स्थान दिनुपर्ने उनको सुझाव थियो । 

सञ्चारकर्मी तथा निर्देशक संगीता श्रेष्ठले आफूले मिडियामा काम गर्दै गर्दा आफूले चाहेअनुरुप कलाकारलाई स्थान दिन नपाइने र मिडियाको नीतिअनुसार चल्नुपर्ने बताइन् । मिडियाले पनि पछिल्लो समय आफ्नो दायित्व बिर्सन थालेको उनको भनाइ थियो ।

गायिका निशा देशारले मिडियाको प्रभाव निकै राम्रो हुने गरेको स्मरण सुनाइन् । आफूले दुई दशकअघि रेडियोमा उत्कृष्ट गायिकाको पुरस्कार जितेपछि आएको समाचारको आधारमा आफूलाई धेरैले बोलाएर गीत गाउने अवसर दिएको उनले सुनाइन् ।

शुक्रबार बिहानै अफ्रिकाको चलचित्र प्रदर्शनसँगै शुरु भएको यो महोत्सवको औपचारिक उद्घाटन समारोहका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठलगायतले महोत्सवको बुकलेट विमोचनबाट गरेका थिए । उद्घाटन समारोहमा महोत्सवमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरणसँगै केही व्यक्तिहरुलाई सम्मान समेत गरिएका थियो ।

कार्यक्रममा अभिनेता शिव श्रेष्ठले यस्ता गतिविधिमा चलचित्र क्षेत्रसँग जोडिएका सरोकारवाला संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यस्ता महोत्सवले हामीलाई विदेशी चलचित्रकर्मीको शैली र समाजसँग साक्षात्कार गराउँछ । त्यसकारण यसमा सहकार्य र सहयोग गर्नु चलचित्रकर्मीको दायित्व हो । मेरो चलचित्र यसमा किन परेन भन्ने महसुस भएको छ ।’

महोत्सवमा १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन हुने महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी दिइन् ।

उद्घाटन समारोहमा सबैलाई स्वागत गर्दै महोत्सव निर्देशक डब्बु क्षत्रीले नेपालमा अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव हुनुपर्छ भन्ने आवश्यकता महसुस गरेर यो महोत्सवको शुरुवात गरिएको बताए । महोत्सवमा राज्य पक्षबाट असहयोग हुने गरेको, महोत्सवमा निःशुल्क देखाइने चलचित्रलाई समेत सेन्सर बोर्डले प्रदर्शनीका लागि अनुमति नदिने गरेको र राज्यले महोत्सवका लागि बजेट पटक्कै नछुट्याएको उनले बताए । 

महोत्सवबारे उनले भने, ‘आज १२औं संस्करणमा आइपुगेका छौं । यस्ता महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ । नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिरहेका छौं ।’

महोत्सवमा अभिनेता श्रेष्ठसँगै अभिनेता धिरेन शाक्य, गजित विष्ट, निर्देशक माधवराज खरेल, अभिनेत्री तथा गायिका सरिता भारतीलगायत सहभागी थिए । महोत्सवमा विदेशी चलचित्र, लघु चलचित्र र वृत्तचित्रतर्फ गणेश पाण्डेको संयोजकत्वमा भारतबाट राहुल वर्मा, बँगलादेशबाट एमडी शाहारिअर कमल, नेपालबाट राजु केसी र रौनकविक्रम कँडेल सदस्य रहेको निर्णायक समिति रहेको छ ।

यस्तै, नेपाली चलचित्र र वृत्तचित्रतर्फ अभिनेता एवम् नाट्यकर्मी विरेन्द्र हमालको संयोजकत्वमा भेषराज कार्की, कृष्ण रसाल, ओम सुनार सदस्य रहेको निर्णायक समिति रहेको छ । यस्तै, नेपाली लघुचलचित्र र सांगीतिक चलचित्रतर्फ हिमाल श्रेष्ठ, प्रतीक्षा काफ्ले र सजिना लामिछाने सदस्य रहेको निर्णायक समिति रहेको छ ।

महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाईट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ सहभागी छन् । यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’, वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ सहभागी छन् ।

महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम हुने जनाइएको छ । महोत्सवमा शुक्रबारबाटै तीन दिनसम्म एमआर्ट थिएटर कपनमा तीन दिनको विशेष अभिनय कार्यशाला पनि चलिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise