२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

एनपीएलको सन्देश

ADV
२०८१ पुष ७ गते ०६:२०
एनपीएलको सन्देश

नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । सुदूरपश्चिम रोयल्सलाई हराएर जनकपुरले नेपालको इतिहासमै ठूलो पुरस्कार राशि (१ करोड १० लाख)सहित सिंगो देशकै ध्यान तान्न सफल भएको छ । बधाई भन्नेहरू र लेख्नेहरूको संख्याले एनपीएलको आयतन मापन गर्न सकिन्छ । पुरस्कार वितरण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि मैदान कीर्तिपुर पुगेका थिए । कीर्तिपुर मैदान पुगेका अरू भीआईपी र ३२ वटै खेल हेर्न टिकट लिएका दर्शकहरूको संख्याले एनपीएल नेपालकै ठूलो प्रतियोगिता बनेको पुष्टि भइसकेको छ । उसो त प्रतियोगिता आरम्भ हुनुअघि नै एनपीएल नेपालको खेल इतिहासमै भव्य हुने संकेत मिलिसकेको थियो । 

एनपीएलका ८ वटै टिम डेढ करोडभन्दा माथि मूल्यमा विक्री भएका थिए । राष्ट्रिय टिमका सिनियर ८ खेलाडीलाई २० लाख मूल्य दिएर मार्की प्लेयर चुनिएको थियो । चलेका क्रिकेटरहरू अक्सनमार्फत १५ लाखसम्म खर्चिएर टिममा अनुबन्ध गरिएको थियो । टिममा अनुबन्धित हुने क्रिकेटरको न्यूनतम मूल्य नै ३ लाख थियो । सबै टिम गरेर ४० जनाभन्दा बढी विदेशी क्रिकेटर ल्याइएको थियो । प्लेइङ एघारमा ४ जना अनिवार्य विदेशी राख्नुपर्ने व्यवस्था गरिएको थियो । विदेशी क्रिकेटरहरूमध्ये धेरैसँग टेस्ट खेलिसकेको अनुभव थियो । विश्व स्टार शिखर धवन, मार्टिन गुप्टिल, जेम्स निसम जस्ता क्रिकेटर एनपीएल खेल्न नेपाल आएका थिए । खेल चलिरहँदा विश्व कीर्तिमानी क्रिकेटर ब्रायन लारा कीर्तिपुर आइपुगे । 

यसरी एनपीएल सकिँदै गर्दा यो प्रतियोगिता नेपालकै एउटा ठूलो पर्व बन्न पुग्यो । अनुमानित आर्थिक कारोबार नै १ अर्ब बराबर छ । आर्थिक कारोबारसँगै देशभित्र र बाहिर यसले कमाएको चर्चा अझ अर्थपूर्ण छ । अन्तर्राष्ट्रिय आमसंचार माध्यममार्फत प्रत्यक्ष प्रसारण भएकाले पनि एनपीएलको व्यापकता थप फराकिलो बन्यो । संसारभरका क्रिकेटप्रेमीहरूले नेपाल र नेपाली चिने । नेपालभित्रै पनि सामूहिक (टिम) भावनाको संस्कृतिलाई बलियो बनाउन मद्दत पुग्यो । मुख्यगरी देशभित्र हरेक क्षेत्र सुस्ताएको अथवा नकारात्मक सूचक रहेको भन्ने सन्देशमा अपवाद घटना बन्न पुगेको छ एनपीएल । यसले नेपाली युवाहरूमा आशा जागृत गरेको छ । अब एनपीएललाई दिगो बनाउनुपर्ने दायित्व राज्यले पनि लिनुपर्छ । नेपाल क्रिकेट संघ (क्यान)ले लिएको पहलकदमीलाई मद्दत पुग्नेगरी क्रिकेटको क्षेत्रमा भौतिक पूर्वाधार र खेलाडीहरूको भविष्य सुनिश्चित हुनेगरी नीतिगत काम गरिनुपर्छ । नेपाली क्रिकेटको जय होस् ।

ADVADV

सम्बन्धित खबर

Advertise