रौतहट : नेपाल–भारत सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाहरुले चार पांग्रे सवारी साधन सहज रुपमा नेपालबाट भारततर्फ आवत–जावत गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
इशनाथ नगरपालिका नेपाल–सीमाना बोर्डर संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । संघर्ष समितिले रौतहटको सदरमुकाम गौरमा आइतबार परोहा नगरपालिका वडा नम्बर ९ रामपुर खापमा रहेको छोटी भन्सार पुनरुमा खोल्न माग गर्दै विरोध प्रदर्शन समेत गरेका थिए ।
संघर्ष समितिका मुख्य योजनाकार इन्जिनियर बसिरुदिन अजादको नेतृत्वमा सयौं स्थानीयहरुले ब्यानरसहित ‘मान्छे थुन्न पाउँदैन, चारपांग्रे सवारी साधन आवतजावत सुरु गर’लगायतको नारा लगाउँदै गौरको बि.पि. चोकबाट र्याली निकालेको थियो ।
उक्त र्याली गौरमा परिक्रमा गरेर जिल्ला भन्सार कार्यालय र प्रशासन कार्यालय पुगेर प्रजिअलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल र भारतको खुला सीमाना भएकोमा दुवै देशका जनताहरुबीच पारिवारिक सम्बन्ध, आपसी भाइचारा, सद्भाव कायम रहोस् र दुबै देशका नागरिक बीचको रोटीबेटीको सम्बन्धमाथि कुनै खलल नपुगोस् भन्दै प्रजिअको ध्यानाकर्षक गरिएको संघर्ष समितिका योजनाकार अजादले बताए । संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत उक्त ज्ञापनपत्र गृहमन्त्रालय, अर्थ मन्त्रालय, आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।