२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एमालेको एकल बहुमत ल्याउने गरी खटिन नेता कार्यकर्तालाई निर्देशन

ADV
सुनिल आउजी
२०८१ जेठ १९ गते १९:१३
एमालेको एकल बहुमत ल्याउने गरी खटिन नेता कार्यकर्तालाई निर्देशन

धनगढी : नेकपा एमालेका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने गरी अगाडि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

कैलालीको धनगढीमा आयोजना गरिएको सदस्यता नवीकरण तथा अनलाइन अभिलेखीकरण विषयक अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा नेता अधिकारीले तीनै तहको सरकारमा एकल बहुमतको सरकार बनाउने गरी अगाडि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । एमाले नेतृत्वको एकल बहुमतको सरकार गठन भएपछि राजनीतिक अस्थिरता अन्त्य हुने उनले दाबी गरे ।

उनले अहिले एमाले मुलुककै सबैभन्दा बलियो, लोकप्रिय र सर्वाधिक रुचाइएको पार्टी रहेको जिकिर गरे । अब पार्टीलाई प्रविधिसँग जोड्नुपर्ने बेला आएको उनले  बताए । ‘अहिले पार्टी केन्द्रले सदस्यहरूको शुद्धीकरणबाट अगाडि बढाउने लक्ष्यसहित यो अभियान चलाइरहेको छ’ उनले भने, ‘पार्टी सदस्यता शुद्धीकरण अभियानलाई अगाडि बढाउन पनि यहाँ उपस्थित भएका हौं । सदस्यहरूको विवरण र अभिलेख अब अनलाइन पद्धतिबाट लैजान्छौं ।’

कार्यक्रममा पोलिटब्युरो सदस्य तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले एमालेप्रति जनमत बढ्दै गएको भन्दै अझै जनता केन्द्रित कार्यक्रम र गतिविधि बढाउनुपर्ने उल्लेख गरे । अहिले तत्काल सुदूरपश्चिम प्रदेश सरकारमा एमाले सहभागी नहुने भए पनि नीति तथा कार्यक्रम र बजेटका लागि सरकारलाई सुझाव दिइएको उनले बताए ।

सुदूरपश्चिम प्रदेश संगठन विभागले आयोजना गरेको एकदिने अन्तरक्रिया कार्यक्रमको सञ्चालन प्रदेश संगठन विभाग प्रमुख रणबहादुर चन्दले गरेका थिए । कार्यक्रमको अध्यक्षता पार्टी प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले गरेका थिए ।

कार्यक्रममा स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख अधिकारी, पोलिटब्युरो सदस्य रावल, केन्द्रीय सचिव तथा संगठन विभाग सचिव माधव ढुंगेल, केन्द्रीय सदस्य तथा संगठन विभाग केन्द्रीय सदस्य लालबहादुर थापा, प्रदेश उपसचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्ट, उपसचिव नरबहादुर विश्वकर्मासहित प्रदेश संगठन विभाग पदाधिकारी तथा सदस्य, जिल्ला अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख तथा कार्यालय सचिवहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रदेश उपसचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी बिष्टले गरेकी थिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise