
दोहा, कतार : नेपालबाट अमेरिका जाने क्रममा कतारको दोहा पुगेका साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’को सम्मानमा अनेसास कतार च्याप्टरलगायत कतारमा सक्रिय विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको सहभागितामा काव्य साँझ आयोजना गरिएको छ ।
कार्यक्रममा सर्जकहरू सीताराम थापा, दिलीप पराजुली, सानु थपलिया, लीलानाथ घिमिरे, सोम थापा, मणि पौडेल, सुजाता डिसी, खेमराज सुवेदी, श्याम आचार्य, पूर्णकान्छा गुरुङ, गणेश बस्याल र मञ्जु कार्कीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवातमा साहित्यकार प्रेरणालाई खादा ओढाएर स्वागत तथा सम्मान गरिएको थियो । त्यसपछि सहभागीहरूबीच परिचयात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । परिचयपछि साहित्यकार प्रेरणासँग उहाँको साहित्यिक यात्रा, लेखन अनुभव तथा सिर्जनाका विविध पक्षबारे जिज्ञासा राख्दै साहित्यिक अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमको अर्को चरणमा रचना वाचन गरिएको थियो । उक्त अवसरमा सुजाता डिसी, सानु थपलिया, दिलीप पराजुली र गणेश बस्यालले आफ्ना गजल प्रस्तुत गरेका थिए । त्यसैगरी सीताराम थापा, पूर्णकान्छा गुरुङ र खेमराज सुवेदीले कविता वाचन गरेका थिए भने सोम थापाले मुक्तक सुनाएका थिए ।
कार्यक्रममा सम्मानित साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ले आयोजक तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे । साथै, गजलमय वातावरणमा उनले आफ्ना गजल प्रस्तुत गर्दै साहित्यिक माहोललाई थप सुमधुर बनाएका थिए ।
नेपाली भाषा, साहित्य र सिर्जनाको प्रवर्द्धनसँगै प्रवासमा रहेका नेपाली सर्जकहरूबीच आत्मीयता, सहकार्य र साहित्यिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित उक्त काव्य साँझले कतारको नेपाली साहित्यिक वातावरणलाई थप उत्साहपूर्ण बनाएको थियो ।