भव्य उत्सवका रूपमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलका क्रममा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सका केही समर्थकबीच झडप भएको विषय यतिबेला चर्चामा छ । सुदूरपश्चिमका समर्थकले उपाधि बिजेता जनकपुरका केही समर्थकमाथि कुटपिट गरेको भिडियो सामाजिक संजालमार्फत सार्वजनिक भएपछि यो विषय चर्चामा आएको हो । कुटपिटको विरोधमा जनकपुरमा गृहमन्त्रीको राजीनामा मागेर प्रदर्शन नै भयो । मधेश केन्द्रित राजनीति गर्ने दलका नेताहरूले उक्त घटनाप्रति चर्को आपत्ति जनाएका छन् । नेपाल प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा केही युवालाई पक्राउसमेत गरिसकेको छ । तर, सामाजिक संजालबाट भिडियो शेयर गरेर आपत्ति जनाउने क्रम रोकिएको देखिँदैन ।
कतिपयले एनपीएलकै भविष्यसँग जोडेर यो घटनाप्रति चिन्ता गरिरहेका छन् । समर्थकहरू साम्प्रदायिक रूपमै उत्रने भयका कारण एनपीएलको उत्सवमा समस्या आउन सक्ने अनुमान उनीहरूले गरिरहेका छन् । कतिपयले चाहिँ सुदूरपश्चिम र मधेशलाई लिएर साम्प्रदायिक सद्भावमा दरार नआओस् भन्ने चिन्ता गरेका पाइन्छ । विगतका उदाहरण हेर्दा साम्प्रदायिकताप्रति गरिएको चिन्ता स्वाभाविक हो किनकि ठूलाठूला साम्प्रदायिक हिंसा सानै निहुँबाट बढेका पाइन्छ । त्यसैले साम्प्रदायिक सद्भावलाई लिएर भइरहेको चिन्तालाई सकारात्मक रूपमा लिनुपर्छ । उक्त कुटपिटमा संलग्नहरूमाथि कारबाही गरेर आगामी दिनमा त्यस्ता घटना हुन नदिने वातावरण बनाउनुपर्छ किनकि भिडियोमा जस्ता अभिव्यक्ति सुनिएका छन्, त्यस्ता शब्द कानुनतः दण्डनीय हुन् । कुनै पनि पक्षले अर्को पक्षलाई घृणायुक्त शब्द प्रयोग गरिनु हुन्न ।
सँगै, अहिले कुटपिटमा परेका पक्ष पनि संयम हुन आवश्यक छ । आवेगलाई शान्त पार्ने एउटा उपाय भनेकै आवश्यक समय लिनु हो । कतिपय व्यक्ति र समूहलाई यही विषय चर्काएर राजनीति गर्न सकिन्छ भन्ने लागेको पनि हुन सक्छ । तर, हिंसात्मक उत्तेजना अथवा साम्प्रदायिकता भड्काएर गरिने राजनीति किमार्थ स्वीकार्य हुन्न । समाजको विद्यमान समस्या समाधानको प्रस्तावसहित जोकोहीलाई राजनीतिमा आउन सक्छन् तर साम्प्रदायिकता भड्काएर गरिने राजनीतिले लाभभन्दा बढी क्षति गर्छ । त्यसैले शानका साथ सुरु भएको एनपीएलको भविष्य सुरक्षित गर्न र हाम्रो समाजको सहिष्णुता जोगाउन सम्बन्धित सबै पक्षबाट विवेकपूर्ण निर्णय लिन जरुरी छ । खेल त्यसै पनि एकताको प्रतीक हो तर यसैलाई विभाजन र द्वन्द्वको कारण बनाउने गल्ती नगरौं ।