सुर्खेत : गरे के हुँदैन र ! इच्छाशक्ति र जाँगर भए सबै सम्भव हुन्छ । यही भनाइलाई चरितार्थ गरेका छन् जाजरकोटको शिवालय गाउँपालिका– ५ काउँलाका पूर्ण के. सी.ले ।
३२ वर्षको युवा उमेरका के. सी. निकै व्यस्त देखिन्छन् । हेर्दा अधबैँसे के. सी.लाई कामको चाप भने बढ्दो छ । बिहान–बेलुका व्यावसायिक कृषि र दिउँसो शिक्षण पेसा उनको दैनिकी हो, जसबाट उनी फुर्सदले एकछिन पनि बस्न सक्दैनन् । उनको उत्साह र सक्रियताले बाँझो जमिनमा कृषि क्रान्ति गरेका छन् ।
सोही गाउँपालिकाको काउँलास्थित हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनी अहिले ‘कृषि क्रान्ति शिक्षक’ भनेरसमेत परिचित भएका छन् । यी २ पेसाले उनलाई दोहोरो परिचय दिलाएका छन् ।
प्रधानाध्यापक भएको मान्छे नै कृषि पेसामा अग्रसर भएको देखेर गाउँले समेत दंग छन् । विगत १३ वर्षदेखि अध्यापन गर्दै आएका उनले २०७६ सालदेखि कृषिको काम पनि गर्ने निधो गरे । त्यसपछि उनले आम्दानी हुने खालका बिरुवाहरू रोपे ।
त्यसयता उनी कृषिलाई सम्मानित पेसा बनाउन दिनरात लागेका छन् । उनको बारीमा चियाका २ हजार, ओखर ३००, स्याउ ५०, सुन्तला ५० र कागतीका ५० बिरुवा छन् । त्यस्तै, १० रोपनी जग्गामा आलु र तोरी खेती पनि गरेका छन् ।
‘मेरा कतिपय निकट साथीहरू नै पढाउँदै कृषि पनि गर्न सकिन्छ र ? भनेर प्रश्न गर्ने गर्थे’, उनी भन्छन्, ‘अहिले मैले गरेको कृषि व्यवसाय देखेर उनीहरू आफैं चकित परेका छन् ।’
उनी बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय जान्छन् । बचेको समयमा स्याउ, सुन्तला, तोरी खेतीको रेखदेखमा जुट्छन् । उनी विद्यालयको काम सकेपछि हतारहतार खेतबारीमा पुगिहाल्छन् । त्यति मात्र होइन, आफू व्यस्त भएको दिनमा उनले ज्याला दिएरसमेत कामदार राख्ने गरेका छन् ।
केही दशकयता पहाडबाट शहरी क्षेत्र तथा तराईमा बसाइँ सर्नेको लहर छ । गाउँमा भएका युवा लाहुरे भएका छन् । गाउँका अधिकांश मानिस वैदेशिक रोजगारीमा छन् । गाउँमा युवाहरू मात्र होइन, महिलाहरूसमेत वैदेशिक रोजगारीमा गएका छन् । तर, उनले आफ्नै भूमिमा शिक्षणका साथ कृषि पेसालाई समेत सँगै अगाडि बढाउन सफल भएका छन् ।
उनी कृषिमा गाउँमै राम्रो भविष्य देखिरहेका छन् । ‘बाहिरी मुलुकको मजदुरीले सधैंलाई पुग्दैन, उमेर छउन्जेललाई मात्र हो, बुढेसकालसम्मका लागि भने होइन । त्यहाँको कमाइले केही समयका लागि त पुग्ला तर त्यसले भविष्य बन्दैन’, के. सी. भन्छन् । आफ्नै गाउँमा केही न केही पेसा सुरु गर्नुपर्छ भन्ने सोचले शिक्षणसँगै कृषि पेसा रोजेको उनी बताउँछन् ।
आफ्नै गाउँलाई कोरिया सम्झेर शिक्षणसँगै कृषि पेसामा लागेको उनको भनाइ छ । ‘म जे काम गर्छु, नेपालमै गर्छु । गाउँको माटोलाई खेलाएर सुन फलाउँछु सोचेँ’, के. सी.ले भने, ‘अमेरिका, कोरियाको सपना गाउँमै बसेर पूरा गर्छु भनेर लागेको हुँ । अहिले राम्रै भएको छ ।’
उनले गाउँका सबैले यहाँ बसेर केही हुँदैन बाहिर जानुपर्छ भन्ने गरेका तर त्यसो नभएको बताए । गाउँमै बसेर पनि राम्रै आम्दानी गर्न सकिने रहेछ भन्ने उनलाई लागेको छ ।
भनिन्छ, हुने बिरुवाको चिल्लो पात । यो उखान के. सी.सँग मेल खान्छ । जब उनी व्यावसायिक उत्पादनमा लागे, त्यसपछि सुरु भयो आम्दानी । उनी २०७६ सालदेखि कृषि पेसामा लागेका थिए । कृषि पेसामा लागेको पहिलो वर्ष उनलाई सोचेभन्दा राम्रै सफलता मिल्यो ।
अहिले वार्षिक २ लाख रुपैयाँभन्दा बढी कमाइरहेका छन् । गाउँकै कृषि पेसा र आम्दानीले सन्तुष्टि दिएको उनी बताउँछन् । उनको ५ वर्षपछिको लक्ष्य १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने छ ।
उनले एउटा मात्र खेती होइन, विभिन्न आम्दानीमूलक बिरुवाहरू रोपेका छन् । ‘एउटा मात्र भएको भए केही घाटा हुन्थ्यो होला । त्यसैले विभिन्न प्रकारका बिरुवाहरू रोपेको छु’, उनले भने, ‘गत वर्ष जति कमाए पनि यस वर्ष त नयाँ बिरुवाहरू रोपेको छु, रोपेका बिरुवाहरू फलेपछि त झनै फाइदा हुन्छ ।’
के. सी.ले उत्पादन गरेका तरकारी, फलफूल अधिकांशजसो सुर्खेतको वीरेन्द्रनगर पुग्ने गर्छन् तर पनि स्थानीय बजारमा भारतीय व्यापारीको रजाइँका कारण उनी खुसी छैनन् । नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मर्कामा पर्ने गरेको उनको गुनासो छ ।
‘सरकारले पनि हामीलाई हेरोस् । हाम्रो उत्पादनको सुरक्षा हुनुप¥यो । बजार र मूल्य पाउनुप¥यो’, उनले भने, ‘सरकारले यति कुरामा मात्र सहयोग गरिदिए हामी जस्ता युवा विदेश जाने नै थिएनन् नि !’