२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बझाङमा एथ्लेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम सुरु

Nada
सत्यराज सिंह
२०८१ पुष १४ गते २०:३२
Shares
बझाङमा एथ्लेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम सुरु

बझाङ : बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा पहिलो पटक आइतबारदेखि एथ्लेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम सुरु भएको छ । 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, बझाङको एकता खेलकुद विकासका लागि हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ सुरु भएको तालिमको एक विशेष कार्यक्रमबीच शुभारम्भ गरिएको हो । खेलाडी तथा प्रशिक्षकहरूलाई खेलकुदका कार्यक्रमहरू सञ्चालन गर्न सहजता होस् भन्ने हेतुले जिल्ला खेलकुद समिति बझाङले जिल्लामै पहिलो पटक तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

ncell

एथ्लेटिक्स प्रशिक्षण तथा रेफ्री तालिमको आइतबार उद्घाटन कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले सहभागी प्रशिक्षार्थीहरुले आ–आफ्नो क्षेत्रमा रहेका युवाहरूलाई खेलकुदमा जोड्नु पर्ने र यस क्षेत्रको गौरवमय इतिहासलाई खेलकुद मार्फत उचाइमा राख्न आवश्यक रहेको बताए । बजालले जिल्लामा खेलकुद मैदान बनाउनका लागि पहल भइरहेको समेत बताए ।

तालिम प्रशिक्षक राष्ट्रिय खेलकुद परिषद्का एथ्लेटिक्स प्रशिक्षक धनीराम चौधरी रहेका छन् । प्रशिक्षक चौधरीले कार्यक्रममा बोल्दै खेलाडी तथा प्रशिक्षकहरूले खेलकुदका नियमहरूको बारेमा पूर्ण रूपमा जानकारी हुन आवश्यक रहेको बताए । यस तालिमले प्रशिक्षक र रेफ्रीलाई खेलकुदका विभिन्न कार्यक्रम सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा रहेको प्रशिक्षक चौधरीको भनाइ छ ।

कार्यक्रममा बोल्दै बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले जग बलियो भयो भने मात्र घर बलियो हुने भन्दै खेलकुदका लागि प्रशिक्षक, रेफ्री तथा खेलाडीहरूलाई नियम कानुनको बारेमा सुरुमा जानकारी हुन आवश्यक रहेको बताए । अध्यक्ष रोकायाले खेलाडी उत्पादनमा जोड दिने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । तालिमले बझाङ जिल्लाको खेलकुद विकासको लागि महत्वपूर्ण टेवा पुग्ने उनले बताए । 

तालिमलाई खेल प्रशिक्षक र रेफ्रीहरूलाई आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्य राखिएको छ । सहभागीहरूले यस अवसरलाई जिल्ला तथा राष्ट्रियस्तरमा खेलकुदको स्तर उकास्न महत्वपूर्ण कदमका रूपमा लिएका छन् । यो तालिमले बझाङ जिल्लाका खेलकुदप्रेमीहरूलाई अझ सक्षम बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने वातावरण तयार पार्ने अपेक्षा गरिएको छ । 

पुस १४ गते देखि २० गतेसम्म सञ्चालन हुने तालिममा जिल्लाभरिबाट ५० जना प्रशिक्षार्थीहरू सहभागी भएका छन् । यस तालिमले खेलकुद क्षेत्रको विकासमा पुर्‍उने योगदानको विषयमा चर्चा गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर