२०८१ पुष २० गते शनिवार / Jan 04 , 2025 , Saturday
२०८१ पुष २० गते शनिवार
Ads

पश्चिम नेपालमा लगातार भूकम्प, व्यवस्थापनका कार्यक्रमको दैखिँदैन प्रभाव

ADV
कुलेन्द्र शाही
२०८१ पुष १७ गते ०६:३५
पश्चिम नेपालमा लगातार भूकम्प, व्यवस्थापनका कार्यक्रमको दैखिँदैन प्रभाव

सुर्खेत : नेपालको विशेषगरी पश्चिम क्षेत्र पछिल्लो समय भूकम्पीय गतिविधिहरूको केन्द्र बनेको छ । आइतबार बिहान ५ बजेर ९ मिनेटमा कालीकोटमा भूकम्प गयो । कालीकोटको ओडानाकु केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि शुक्रबार ११ बजेर ३७ मिनेट जाँदा पनि कालीकोटको लाली आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो । 

यस्तै, बिहीबार बिहान ६ बजेर ३३ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिकास्थित नायकवाडा आसपास केन्द्रबिन्दु भएर पनि भूकम्प गएको थियो । बारेकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको थियो । उक्त समयमा भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

शनिबार बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा छिमेकी जिल्लाहरूमा पनि धक्का महसुस गरिएको थियो । बाजुरामा यो भूकम्पले केही भौतिक क्षति पनि पुर्‍याएको छ ।

पुस महिना लागेपछि मात्र पश्चिम नेपालमा ६ जिल्लामा ८ वटा भूकम्प गइसकेका छन् । पश्चिम नेपाल पछिल्लो समय साना तर लगातारका भूकम्पहरूको साक्षी बनिरहेको छ । 

जाजरकोट, बाजुरा र दार्चुलाका विभिन्न स्थानहरूमा पछिल्ला दिनहरूमा थुप्रै साना–मझौला भूकम्पहरू महसुस भएका छन् । भूगर्भविद्हरूका अनुसार यो क्षेत्रमा भूकम्पीय प्लेटहरूको सक्रियता बढिरहेको देखिन्छ । साना मापनका भूकम्प ठूला भूकम्पको पूर्वसंकेत हुन सक्ने भन्दै विज्ञहरूले सतर्क रहन आग्रह गरेका छन् ।

यसअघि गत वर्षको १७ कात्तिकमा जाजरकोट रामिडाँडा केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । उक्त भूकम्पले मानवीय र भौतिक क्षति गराएको थियो । यो घटनाले स्थानीय बासिन्दाहरूमा गहिरो प्रभाव पारेको थियो ।

ठूलो भूकम्प जाने संकेत 
नेपालमा भूकम्पीय जोखिम पश्चिममा मध्य र पूर्वी नेपालको तुलनामा धेरै बढी छ । पश्चिम नेपालको भूगर्भभित्र संचित भएर बसेको भूकम्पीय शक्तिले कुनै पनि बेला त्यस क्षेत्रमा महाविनाश निम्त्याउन सक्ने सम्भावना अहिले पनि जीवितै छ । 
पश्चिम नेपालमा विगत ५०० वर्षयता ठूलो भूकम्प नगएको कारण त्यस क्षेत्रको भूगर्भभित्र ठूलो भूकम्प जाने शक्ति संचित भएर बसेको भूकम्पविद् बताउँछन् । 
भौगोलिक अवस्थितिको आधारमा हेर्दा नेपालको सम्पूर्ण हिमालय क्षेत्र भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र हो । पश्चिम र सुदूरपश्चिमका विभिन्न जिल्लामा पटक–पटक गइरहेका साना र मझौला खालका भूकम्पले त्यस क्षेत्रमा ठूलो भूकम्प जाने सम्भावनामा जीवितै छ भन्ने सन्देश दिएको भूकम्पविद्को तर्क छ । 

हुन्छन् व्यवस्थापनका कार्यक्रम, दैखिँदैन प्रभाव 

नेपालको भूकम्पीय इतिहासमा २०७२ सालको भूकम्प एक ऐतिहासिक र भयानक घटना हो । ७ दशमलव ८ म्याग्निच्युडको उक्त भूकम्पले हजारौंको ज्यान लिएको थियो भने लाखौं मानिसलाई विस्थापित गर्‍यो । काठमाडौं उपत्यका, गोरखा, सिन्धुपाल्चोक, दोलखा र नुवाकोट जस्ता जिल्लाहरूमा व्यापक भौतिक क्षति भएको थियो ।

त्यस घटनाले नेपाललाई भूकम्पीय सुरक्षा र विपद् व्यवस्थापनमा ठूलो चुनौतीको सामना गर्न बाध्य बनायो । नेपालका भूगर्भविद्हरूका अनुसार हिमालय पर्वत शृंखलामा पर्ने नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिमयुक्त क्षेत्र हो ।

पछिल्ला घटनाहरूले भूगर्भीय प्लेटहरूको गतिशीलता सक्रिय रहेको संकेत गर्छ । साना भूकम्पहरूले कहिलेकाहीँ ठूलो भूकम्प आउनुअघि भूगर्भीय तनाव कम गर्ने भूमिका खेल्छन् । तर, यो निरन्तर हुने गतिविधिले ठूलो भूकम्पको सम्भावनालाई पनि अस्वीकार गर्न सक्दैन ।

२०७२ सालको भूकम्पपछि सरकारले भूकम्पीय सुरक्षा र विपद् व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विभिन्न कार्यक्रमहरू संचालन गरेको भए पनि त्यसको प्रभाव अझै पर्याप्त देखिएको छैन ।

ग्रामीण क्षेत्रहरूमा भूकम्पप्रतिरोधी भवनहरूको निर्माण र जनचेतना अभिवृद्धि अपरिहार्य छ । स्थानीय र राष्ट्रिय सरकारको सहकार्यमा आपत्कालीन योजना निर्माण, आपत्कालीन सामग्रीको भण्डारण र नियमित तालिमहरू संचालन गर्नुपर्छ । नेपालमा पछिल्ला भूकम्पीय गतिविधिहरूले देशभर पुनः सतर्कता अपनाउनुपर्ने देखाएका छन् । 

२०७२ सालको भूकम्पले दिएको पाठलाई आत्मसात् गर्दै वर्तमानमा हुने भूकम्पीय घटनाहरूसँग जुध्न तयार रहनु महत्त्वपूर्ण छ । दीर्घकालीन योजना र तत्कालीन तयारीले मात्र सम्भावित जोखिमलाई कम गर्न सकिने तथा सरकार, समुदाय, र गैरसरकारी संस्थाहरूको सहकार्यले मात्र भूकम्पीय सुरक्षा र विपद् व्यवस्थापनमा उल्लेखनीय प्रगति गर्न सकिने यस क्षेत्रका विज्ञहरू बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise