२०८१ पुष २१ गते आइतवार / Jan 05 , 2025 , Sunday
२०८१ पुष २१ गते आइतवार
Ads

गाउँ बस्नयोग्य बनाइदेऊ सरकार !

ADV
२०८१ पुष १९ गते ०६:१०
गाउँ बस्नयोग्य बनाइदेऊ सरकार !

–विदुर दाहाल

कुनै समयमा सित्तैमा जग्गा र घडेरी दिएर मानिसहरूलाई तराईमा सारिएको थियो । बसाइँ सरेर मानिस कुनै हालतमा तराई जाँदैनथे । मलेरिया र औलोले ज्यान लिन्थ्यो । अहिले परिस्थिति फरक छ । औलो तथा मलेरिया उन्मूलन मात्र भएन, विकासका पूर्वाधार थपिँदै गए ।

पहाड र हिमाली जीवनभन्दा सहज भयो तराई । हिमाल र पहाडमा जनसंख्या क्रमशः घट्दै गयो । बसोबास र जनसंख्या तराईमा बढ्दै गयो । १७ प्रतिशत भू–भागमा ८३ प्रतिशत भू–भागको भन्दा जनसंख्या बढी भयो । मानिसहरू गाउँ छाडेर तराई अनि शहरतिर सर्न थाले ।

काठमाडौं, पोखरा, विराटनगर, बुटवल, वीरगन्ज, नेपालगन्ज जस्ता ठूला शहरमा मानिसको चाप उच्च भयो । पछिल्लो समय शहरले पनि मानिस रोक्न सकेन र विदेश जान थाले । यो विश्वव्यापी प्रक्रिया हो । 

विक्रमको २०५० को दशकपछि गाउँ तथा ग्रामीण शहर रित्तिन थाले । यो वर्ष बुस्ती आधारभूत विद्यालय दोलखामा बाल कक्षामा १ जना पनि भर्ना हुन आएनन् । त्यसैगरी त्रिपुरा क्याम्पस नाम्दुमा वर्षभर नै कक्षा लिन विद्यार्थी आएनन् । नाम्दु स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन जम्मा ४ जना महिला आए । 

यो नै गाउँ निर्जन भएको प्रमाण हो । विशेषगरी पूर्वी र मध्य पहाडको बसाइँसराइ दर उच्च भयो । विद्यालयमा विद्यार्थी नगन्य छन् । गाउँका प्रायः घरमा ताला लागेको छ । नलागेको घरमा बूढाबूढी मात्र छन् । खेतबारी बाँझै छ । बनेका पूर्वाधार प्रयोगविहीन हुने खतरा बढेको छ । गाउँमा गरिएको विकास लगानी बालुवामा पानी हाले सरह भयो । 

गाउँमा बस्नेहरू केही गर्न नसक्ने भन्ने मानक स्थापना भयो । विकास पूर्वाधारले मानिसलाई गाउँमा रोक्न सकेन । विकास गाउँ पस्यो मानिस शहर तथा विदेश पसे । गाउँमा आशा छैन । रोजगारीको अवस्था नाजुक छ । रोजगारी मुख्य कुरा रहेछ मानिसका लागि ।

गुणस्तरीय जीवनको खोजीमा भौंतारिएको छ मानिस । थोरै दुःखमा धेरै उपलब्धि खोज्दै मानिस शहर पसे । गाउँमा सम्भावना देखेनन् । सुखी जीवनका लागि उसले गाउँ छाड्यो । विशेषगरी पहाड छाड्यो । 

खासमा ग्रामीण कृषि व्यावसायिक र आधुनिक हुन सकेन । गाउँ परिवर्तन कृषि र पशुपालनबाटै हुने हो । खेतीका लागि सिँचाइ छैन, यान्त्रीकरण भएको छैन, पुरानो प्रणालीबाट कृषिमा उपलब्धि हुँदैन । बाँदर, दुम्सी तथा जंगली जन्तुले उत्पादित फसल नष्ट गर्छन् । रोक्ने कुनै संयन्त्र छैन । दुःख गरेर उत्पादन गरेको फसलले बजार पाउँदैन । त्यति मात्र होइन; किसानले समयमा मल, बिउ पाउँदैनन् ।

किसानमैत्री नीति बन्न सकेन । ठूलो स्केलमा खेती गर्न जग्गा चक्लाबन्दी भएन । यसले गर्दा गाउँमा आकर्षणभन्दा विकर्षण बढी भयो । गाउँमा केही नहुने भाष्य निर्माण भयो । 

गाउँमा मानिसले खोज्ने अर्को मुख्य सुविधा स्वास्थ्य हो । गाउँमा राम्रा हस्पिटल र डाक्टर छैनन् । उपचारका लागि शहरै धाउनुपर्छ । सुविधा र अवसर नहुँदा टोलटोल रित्तिएका छन् । आफ्नो पिता पुर्खादेखिको जग्गा जमिन छाडेर मानिस अवसरको खोजीमा निस्केका छन् । त्यो रहर मात्र होइन, बाध्यता पनि हो ।

गाउँमा बिहे गर्न केटाले केटी पाउँदैन, केटीले केटा पाउँदैनन् । स्कुलमा विद्यार्थी छैनन् । स्वास्थ्य केन्द्रहरू उपयोगविहीन छन् । सिटामोलसम्म दिन सक्दैनन् तिनीहरूले । सडकमा मोटर रित्तै दौडिन्छन् ।

शहरले चाउचाउ, मैदा, चामल, बिस्कुट जस्ता निर्मित वस्तु गाउँमा निर्यात गर्छ । गाउँबाट शहर निर्यात हुने वस्तु छैनन् । गाउँबाट शहरमा कृषि वस्तु निर्यात हुनुपर्नेमा उल्टो भएको छ । गाउँले निर्यात गर्ने भनेको मानिस हो । मानिस शहर र विदेश पठाउँछ ।

गाउँमा काम गर्ने श्रमिक छैनन् । आत्मनिर्भर गाउँ झन् परनिर्भर हुँदै छ । पूरै गाउँ निराशामा बाँचेको छ । आशा र भरोसा छैन । सक्नेहरू शहर र विदेश गए, नसक्नेहरू गाउँमा छन् ।

गाउँमा सन्नाटा छाएको छ । जन्ती र मलामी पाउन गाह्रो छ । यस्तै हो भने राई माइलाले मात्र होइन, अरू माइलाले पनि गाउँ छाड्ने छन् । त्यसैले गाउँ बस्नलायक बनाइदेऊ सरकार ! गाउँमा रोजगारी, स्वास्थ्य सेवा र सुविधा विस्तार गरिदेऊ । ग्रामीण विकास र बस्ती विकासको नीति सरकारले छिटो ल्याऊ नत्र गाउँ अझै निर्जन हुने छ । 

विकासको परिभाषा बदल्नुपर्छ सरकार अब ! बाटो र बिजुली आधारभूत कुरा रहेछन् । मुख्य कुरा गुणस्तरीय जीवन रहेछ । त्यसमा पनि रोजगार, स्वास्थ्य र शिक्षा रहेछन् । राजनीतिक गफले गाउँ बन्दैन । गाउँ बनाउन काम गर्नुपर्छ ।

उपयुक्त नीति र कार्यक्रम चाहिन्छ । कृषिमा रूपान्तरण नगरी गाउँ बन्दैन । सबैले छाड्दै गरेको निर्जन गाउँमा कसरी बस्ने  ? गाउँ बस्नयोग्य बनाइदेऊ सरकार !

ADVADV

सम्बन्धित खबर

Advertise