२०८१ पुष २१ गते आइतवार / Jan 05 , 2025 , Sunday
२०८१ पुष २१ गते आइतवार
Ads

रास्वपा : सिद्धान्त र कार्यनीतिमा फरक दृष्टिकोण

ADV
२०८१ पुष १९ गते ०६:१५
रास्वपा : सिद्धान्त र कार्यनीतिमा फरक दृष्टिकोण

–श्याम मदन के. सी. 

नेपालको राजनीतिमा देखिएको विकृति, विसंगति र कुशासनलाई हटाउने अभियान संचालन गर्नका लागि २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना गरिएको हो । यस पार्टीले नेपालको संविधान, २०७२ ले जनतामा निहित रहेको सार्वभौमिकतालाई आत्मसात् गरेको छ । संविधान प्रदत्त जनताका संवैधानिक अधिकारको रक्षार्थ आफ्नो अभियानलाई अगाडि बढाउँदै आएको छ ।

संविधानले परिकल्पना गरेको शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि जनताले महसुस गर्नेगरी जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धता रास्वपाको छ । पार्टीले राष्ट्रिय हितलाई सर्वोपरि मानी जनउत्तरदायी, जनसहभागितामूलक लोकतान्त्रिक राज्य शासन व्यवस्था प्रवद्र्धन गर्ने मुख्य लक्ष्य राखेको छ । यो पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध छ ।

यसले सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने, बहुलवादी लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने नीति लिएको छ । यसको मूल ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिका लागि अगाडि बढेको छ । 

रास्वपाले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जबाफदेहीपूर्ण शासनको माध्यमबाट समन्यायिक समावेशी समाज निर्माण गर्न पहल गरेको छ । पार्टीले सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दिगो परिचालन गरी लोककल्याणकारी राज्यको सुनिश्चितता गर्ने लक्ष्य राखेको छ ।

राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु–पर्यावरणीय सन्तुलन कायम गर्ने प्रतिबद्धता जनाएको छ । यसले उद्यममैत्री लगानी र अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नतिका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाउने जनाएको छ । शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू प्राप्त गर्ने सकिने विश्वास रास्वपाको छ । 

विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामथ्र्य र एसियाको उदाउँदो भूराजनीतिक महत्त्वलाई मध्यनजर गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्ने अभीष्ट रास्वपाको छ ।

रास्वपाले आफ्नो गतिविधिलाई अगाडि बढाउनका लागि जनतामाझ आफ्नो उद्देश्य र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मुलुकमा विगत लामो समयदेखि देखिएका समस्याहरूको समाधानका लागि रास्वपाले २५ बुँदे सार्वजनिक प्रतिबद्धता जाहेर गरेको छ । सुशासन कायम गर्नका लागि भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अगाडि बढाएको छ । त्यसका लागि सार्वजनिक निकायमा बसेर अकूत सम्पत्ति कमाएकाहरूको सम्पत्ति छानबिन गर्ने रहेको छ ।

त्यसरी नै छिटो प्रक्रियाको माध्यमबाट तत्काल कडा कारबाही गर्ने र आफ्नो नातेदारहरूमार्फत स्वदेशी तथा विदेशमा सम्पत्ति राख्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता प्रकट गरिएको छ । 

यसका लागि रास्वपाले सार्वजनिक सेवालाई चुस्त र दुरुस्त बनाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्नेगरी कर्मचारीतन्त्रमा व्यापक सुधार गर्ने नीति लिएको छ । त्यसका लागि आवश्यक तालिमको व्यवस्था गरी हायर एन्ड फायरको व्यवस्था लागू गर्दै दरबन्दी र पदपूर्तिमा देखिएका समस्या समाधान गर्ने, प्रत्येक सार्वजनिक सेवामा सेवाग्राहीले तोकिएको समयभित्र सेवा पाउने व्यवस्था मिलाउने र कार्यालय प्रमुखलाई जिम्मेवार बनाउने नीति लिइएको छ । 

नातावाद, कृपावाद, आशीर्वाद र परिवारवादलाई पूर्ण निस्तेज गर्ने नीति रास्वपाको छ । समयसमयमा हुन सक्ने स्वार्थको द्वन्द्वका कारण हुन सक्ने नियुक्तिको प्रभावलाई रोक्न अलग्गै आयोग गठन गरिनुपर्छ । चुस्त र दुरुस्त प्रणाली अवलम्बन गर्नका लागि पुरस्कृत र दण्डको व्यवस्थालाई उच्च प्राथमिकता दिइनुपर्छ ।

राज्यको शासन व्यवस्थामा अस्वीकार गर्ने अधिकार, जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार, डिजिटल लोकतन्त्र र प्रारम्भिक निर्वाचन प्रणाली व्यवस्था गरी प्रत्यक्ष सहभागितामूलक लोकतन्त्रको प्रवद्र्धनमा जोड दिइने नीति रास्वपाको छ । 

विभिन्न तरिकाबाट विदेश पुगेका नेपाली नागरिकका परिवारको सामाजिक र आर्थिक सुरक्षाका लागि प्रभावकारी कार्यक्रम ल्याउने नीतिलाई रास्वपाले ध्यान दिएको छ । लोककल्याणकारी राज्यको स्थापनाका लागि नागरिकको प्रत्यक्ष संलग्नता रहने शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा संरक्षण र प्रवद्र्धनका लागि प्राथमिकताका साथ काम गर्नुपर्छ भन्ने बुझाइ रास्वपाको छ । 

परराष्ट्र सम्बन्धमा रास्वपा स्पष्ट छ । आफ्नो राष्ट्रिय स्वार्थलाई कायम राख्दै अन्य देशसँगको कूटनीतिक सम्बन्धलाई नयाँपन दिने नीति रास्वपाको छ । विशेषगरी सीमाको सन्दर्भमा भारतसँगै देखिएको विवादलाई सकेसम्म २ पक्ष बसेर हल गर्ने, नसके अन्तर्राष्ट्रिय मञ्चको आवश्यक सहयोग लिनुपर्छ भन्ने नीति रास्वपाको छ ।
अर्थतन्त्रको विकासका लागि आधारभूत आवश्यकताका वस्तु र सेवामा राष्ट्रलाई आत्मनिर्भर बनाइनुपर्छ । आयातलाई प्रतिस्थापन गरी निर्यातलाई प्रवद्र्धन गर्ने नीति अहिलेको आवश्यकता हो । रास्वपाले उद्योग, व्यापार गर्नेहरूलाई विभिन्न निकायमा धाउनुपर्ने अवस्थाबाट मुक्ति दिलाई एक केन्द्रको अवधारणा ल्याई झन्झटमुक्त वातावरण बनाउने नीतिलाई अगाडि सारेको छ ।

विकासका योजनाहरू संचालन गर्नका लागि सार्वजनिक–निजी साझेदारीको अवधारणामा आधारित संघीय, प्रादेशिक र पालिका स्तरमा लागू गर्ने विषयमा रास्वपा प्रस्ट छ । 

शिक्षालाई परिणाममुखी, सीपमूलक, नैतिक, ज्ञानमूलक, रोजगारी केन्द्रित, व्यावहारिक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्तिको उत्पादन गर्ने शिक्षा प्रणाली लागू गर्नुपर्छ । उच्च शिक्षामा छात्रवृत्तिलाई प्राथमिकतामा राखी १२ कक्षासम्म निःशुल्क गरिनुपर्छ । 

धार्मिक आस्थाको सन्दर्भमा रास्वपा स्पष्ट छ । रास्वपाले सनातन वैदिक संस्कृतिलाई संरक्षण गर्ने नीति लिएको छ । विद्यालयको पाठ्यक्रममा समावेश गरी आध्यात्मिक ज्ञानलाई प्रवद्र्धन गरिनुपर्छ । नेपालका मौलिक धर्म, मूल्य–मान्यतालाई मानवीय विकासमा मद्दत हुनेगरी प्रवद्र्धन गर्नुपर्छ ।

पौराणिक महत्त्वका धार्मिक, सांस्कृतिक स्थान, सबै धर्मावलम्बीका ग्रन्थ, सामग्रीहरूको संरक्षण गरिनुपर्छ । यस्ता ग्रन्थहरूको अध्ययन, अनुसन्धान गरी राष्ट्र निर्माणमा सदुपयोग गरिनुपर्छ । सबै धर्म र धर्मावलम्बीहरूको सम्मान र संरक्षणमा राज्यले प्राथमिकता दिनुपर्छ । 

नेपाललाई विश्व शान्ति क्षेत्र घोषणा गर्नका लागि वातावरण बनाउनुपर्छ । कुनै देशमा उच्च तहका विज्ञता हासिल गरेका नेपालीहरूलाई त्यही मुलुकले दिएको सेवा सुविधा उपलब्ध गराई नेपाल फर्काउने अभियान सुरु गरिनुपर्छ ।

यसरी कतिपय नीति र सिद्धान्तहरू अन्य पार्टीहरूसँग मेल खान गए तापनि अरू पार्टीहरूको तुलनामा रास्वपा फरक ढंगबाट अघि बढेको छ । प्रारम्भिक निर्वाचनका माध्यमबाट प्रधानमन्त्री, मुख्यमन्त्री पार्टीकै साधारण सदस्यको मतबाट छनोट हुने व्यवस्थालाई रास्वपाले अंगीकार गरेको छ ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणाली साधारण सदस्यको मतदानबाट नामावली र क्रम संख्याको आधारमा तयार गर्ने नीति रास्वपाको छ । यस पार्टीमा कुनै किसिमको भ्रातृ संगठनको गठन गरिने छैन । यसको मूल तात्पर्य राजनीतिभन्दा आफ्नो कर्ममा तल्लीन हुन प्रोत्साहन गरिनु रहेको छ । घरपिच्छेबाट नेता जन्माउने परिपाटीको अन्त्य गरी राजनीतिलाई सुसंस्कृत र सम्मानित बनाउनु मुख्य ध्येय रहेको छ ।

यसर्थ, रास्वपालाई कार्यकर्तारहित पार्टीको रूपमा विकास गरिने छ । पार्टीका सबै तहमा सम्भव भएसम्म बहुसंख्यक युवा हुने छन् । आफ्नो जीवनमा व्यावसायिक तथा व्यक्तिगत सफलता हासिल गरी राजनीति गर्न चाहने क्षमतावान् नेपालीलाई अन्य पार्टीमा सिधै नेतृत्व लिने अवस्था छैन । यस्तो अवस्थामा रास्वपामा सदस्यता लिई सिधै पार्टीको सभापतिसम्म भएर नेतृत्व गर्ने अवसर सुनिश्चित गरिएको छ ।

पार्टी सभापतिको छनोट विधि सम्पूर्ण सदस्यहरूको मतदानमार्फत गर्ने व्यवस्था गरिएको छ । पार्टी सदस्यमा नै सार्वभौमिकता निहित छ । पार्टीका सदस्यहरूलाई आफ्नो प्रस्ताव, नीति तथा विचार उठाउने स्वतन्त्र अधिकार दिएको छ ।

पार्टीमा केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापति र पालिका सभापति २ कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था छ । यस पार्टीका सदस्यहरूले गर्न नहुने कामको आचारसंहिता निर्माण गरेका छन् । 

त्यसमा जनतालाई सास्ती हुने, नेपाल बन्द, चक्काजाम, हिंसात्मक आन्दोलन, व्यक्तिको सम्पत्ति तथा सार्वजनिक सम्पत्तिमा क्षति गर्ने काम गर्न प्रतिबन्ध गरिएको छ । पार्टीका सदस्यहरूले अपारदर्शी चन्दा उठाउन पाउने छैनन् । प्रतिस्पर्धा, योग्यता र क्षमतालाई नजर अन्दाज गरी टीका लगाउने काम गर्ने व्यवस्था छैन ।

प्राकृतिक सम्पदाहरूको अनुचित दोहन गर्न नहुने, राज्यको स्रोत, साधन र शक्तिको दुरुपयोग नगर्ने, अनावश्यक रूपमा विदेश भ्रमण र विदेश स्वास्थ्य उपचारका लागि राज्यको सम्पत्तिको प्रयोग नगर्ने आचारसंहितामा छ ।

राष्ट्र हितविपरीतका अनुचित सम्झौता नगर्ने, कुनै भेदभाव नगर्ने र धर्म, सम्प्रदाय, यौनिक अल्पसंख्यक तथा जातज(ातिविरुद्ध द्वेष फैलाउने र उत्तेजना सिर्जना हुने कार्य गरिने छैन ।

अवकाशपछि पनि राज्यबाट कुने सुविधा नलिने, एउटै पदमा २ पूर्ण कार्यकालभन्दा बढी नबस्ने, चुनाव हारेकालाई चोर बाटोबाट संसद् वा सरकारमा नल्याउने प्रावधान अरूमा छैन, जसलाई रास्वपाले अगाडि बढाउँछ । 

(के. सी., रास्वपा बाग्मती प्रदेशका नेता हुन् ।)

ADVADV

सम्बन्धित खबर

Advertise