२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

मरासिनीको काव्य ‘चरीको गीत’मा विचरण

ADV
मध्यान्ह
२०८१ पुष २० गते ०६:१०
मरासिनीको काव्य ‘चरीको गीत’मा विचरण

-डा. श्रीराम खनाल 

२० वर्षअघि ‘नजुरेको धून’ (२०६०) गजल कृति लिएर नेपाली साहित्यमा प्रवेश गरेका शशी मरासिनी पेसाले प्राध्यापक र कानुन व्यवसायी हुन् । उनका बुबा विष्णुप्रसाद मरासिनी, जो मरासिनीका प्रेरणाका स्रोत पनि हुन्, उनले ‘साहित्य, संगीत, कलाविहीन साक्षात् पशु पुच्छ  विषाणहीन’ भन्ने कुरा सुनाएपछि मरासिनीको अर्धचेतन मनमा बस्यो र उनी साहित्यमा होमिए ।

४० वटा कवितालाई समेटेर संग्रहको रूप दिएर अक्षरधाम प्र्रकाशन प्रा. लि.ले कवि मरासिनीको काव्य कृति ‘चरीको गीत’ बजारमा ल्याएको हो । साहित्यकार डा. छायादत्त न्यौपाने ‘बगर’ले प्रकाशनको चाँजोपाँजो मिलाएका हुन् । 

नेपाली समाज, प्रकृति एवं जनजीवनमा भिजेका उनका कविताहरू युगबोध गराउने खालका छन् । बालमनोविज्ञानदेखि संर्घषशील जीवनका पाइलाहरू, दर्शन समेटिएका उनका काव्यकृति साँच्चै सुन्दर, सन्देशमूलक र सुपाठ्य छन् । सृष्टि सौन्दर्यमा रमाउने उनी यसैमा चेत भर्न चाहन्छन् । 

नेपाली जनजीवनदेखि इतिहास, पुराणका विषय समेटिएका उनका कवितामा मानव जीवनको गतिशील चित्रण हुन्छ । कविता छोटा छन्, छरिता छन् तर मर्मस्पर्शी  चेत र सन्देशले आतप्रोत एवं ओजपूर्ण छन् । सुन्दर बान्की भर्ने कलाकृतिको झल्को दिने कवि मरासिनी आफ्ना कवितामा जीवनमुखी सन्देश प्रवाह गर्छन् ।

वास्तवमा मरासिनी नेपाली संस्कृति, इतिहास, भाषा र भूगोललाई माया गर्ने स्रष्टा हुन् । अर्घाखाँची जिल्लाको पोखराथोक– ५ मा जन्मिएका उनी बर्दियाको गुलरिया– ६ मा बसोबास गर्न पुगे । साढे २ दशकअघि काठमाडौं छिरेर कर्मथलो काठमाडौं बनाएका मरासिनी कुशल अध्यापक, सफल कानुन व्यव्सायी, साहित्यका स्रष्टा र द्रष्टा बन्न पुगे । तर, आफ्नो भूगोल र माटो विर्सिएका छैनन् उनले । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा समेत अनुसन्धनात्मक लेख रचना प्रकाशन गरेका उनले साहित्य र पत्रकारिताका गरी आधा दर्जन पुस्तक प्रकाशन गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभागमा २ दशकदेखि प्राध्यापरत मरासिनीले हालै पत्रकारिता विषयमा विद्याावारिधि गरेका छन् । 

चरीको गीतको लयमा बिउँझिएर बिहान हुने मानिसहरू चरीको क्रियाकलापले बिहानीको शुभसंकेत दिने उल्लेख गर्छन् । अंग्रेजी कवि रोबर्ट फ्रस्टझैं उनी हरेक दिनलाई नयाँ ऊर्जावान्, सकारात्मक र शुभ ठान्छन् । नयाँ वर्षलाई मानिसमा मनका विकारलाई त्यागेर नयाँ ऊर्जा र सोचका साथ स्वागत गरौं भन्ने भाव कवितामा प्रस्तुत गर्छन् । 

जीवनको अस्तित्वका बारेमा कवि मरासिनीको आदर्श छ–मानिसले जीवनको अस्तित्व नहराएको महसुस गरी विश्वासमा पौडन सके  आशा र भरोसामा जीवन अड्न सके मानव जीवन धन्य हुने छ । उनी मावन जीवनको मूल्यबोध गर्न सिकाउँछन् । यो जीवन सदुपयोग गर्न सन्देश प्रवाह गर्छन् कवि । 

उनी आफ्नो ‘किसान महाकाव्य’ शीर्षकको कवितामा किसानका बारेमा ठूला काव्यकृति लेखिन्पर्ने सन्देश प्रवाह गर्छन् । त्यसो त दिनहीन, गरिब, निमुखाप्रति निकै चिन्तित, उदार र सहानुभूति राख्छन् कवि । उनी किसानका र निम्न वर्गका हिमायती हुन् । त्यसैले होला, उनी किसानका भूमिकालाई खुलेर प्रशंसा गर्छन् । 

नेपाली युवा विदेशिन बाध्य पारिएको प्रति चिन्तित छन् कवि मरासिनी । ‘नेपाली युवा’ शीर्षकको कविताको भाव पनि यही छ । धर्ती बाँझो भएको, फाँटका गरा, खेतबारी बाँझिएका प्रति र बस्ती अन्धकार भएको गहिरो चिन्ता व्यक्त गर्छन् । 

कवि मरासिनीमा दर्शनको राम्रो चेत रहेको उनका सुन्दर कविताहरूले पुष्टि गर्छन् । प्रकृति चित्रण गर्ने खुबी पनि छ उनमा । वसन्त क्रृतुको महिमालाई बडो सुन्दर ढंगले प्रस्तुत गरेका छन् । मानिसको वैंस वा जोवनलाई वसन्तसँग तुलना गर्छन् । वसन्त र वैंसको बिम्ब निकै सटीक प्रस्तुत गरेका छन् ।

तिम्रो वसन्तले 
फूलहरूको सुवासमा 
भ्रमरा भुनभुनिने छन् ।
पुतलीको फिरफिरसँगै
उड्ने मस्त जवानी हो
तिम्रो यो लहलहाउँदो वसन्त
फक्रेको त्यो फूल... । (पृ. २५)

फ्रायडवादी चिन्तन सौन्दर्य चेत कवि मरासिनीमा पनि छ । शृंगारिक रस पनि उनका काव्यमा भेटिन्छ । 

मृत्यु  शास्वत छ । पूर्वीय दर्शन पनि यही भन्छ । शून्य नै सत्य छ र सत्य नै शून्य हो भन्ने जीवनवादी दर्शन पनि कविले प्रस्तुत गरेका पाइन्छ । कवि मरासिनीको ‘फिलिंगो’ कविताले यही भन्छ ।

ठूलाठूला बादशाह र तानाशाहको प्रतिमा गल्र्यामगुर्लुम्म ढलेको दृश्य मैले आँखै अगाडि देखेको छु भन्दै परिर्वतनका लागि क्रान्ति अपरिहार्य रहेको भाव पनि कवितामा व्यक्त गर्छन् । क्षणभरमा बिलाउनु, हराउनु जीवनको यथार्थ हो भन्ने सन्देश पनि प्रस्तुत गर्छन् ।

उनको काव्य चेतलाई विश्लेषण गर्दा उनी माक्र्सवादी चिन्तन, पूर्वीय दर्शन जस्ता मिश्रित चिन्तनबाट पनि प्रभावित भएका तर प्रगतिशील कवि हुन् भन्ने अनुमान गर्न सकिन्छ ।

अग्रज कवि पारशमणि प्रधानले भन्नुभएझैं कवि कविता होस्, कविता कवि होस, तब न कविता बन्छ, शब्द थुपारीकन के बन्छ, भाव भए पो हुन्छ । यस मानेमा कवि मरासिनी सचेत छन् ।

सारांशमा भन्नुपर्दा, कवि मरासिनी जीवन र जगत्लाई सूक्ष्मतम् ढंगले केलाउने र शल्यचिकित्सकझैं सामाजिक घटनालाई सजगतासाथ चिरफार गर्न एवं दार्शनिक विचार अघि सार्ने स्रष्टा हुन् । उनका काव्यहरूले यही भन्छन् ।

प्रस्तुत  काव्यकृति थोरै पृष्ठको भए पनि ओजिलो र मर्मस्पर्शी कविताहरूले भरिएको सुन्दर कृतिका रूपमा देखिन्छ । गरिब, निमुखा र दीनहीनका आवाज पोख्ने एवं जीवनगाथा गाउने स्रष्टाका रूपमा आफूलाई चित्रण गरेका छन् कविले भन्दा फरक पर्दैन ।

ठाउँठाउँमा काव्यात्मक भाव र शिलशिला हराएको वा टुटेको पनि पाठकलाई लाग्न सक्छ । तर, मरासिनी थोरै काव्य सिर्जना गर्ने कवि भए पनि उनका कविता कालजयी बन्ने अनुमान गर्न सकिन्छ । आगामी दिनमा उनको सिर्जनामा अझै निखारता जाओस् र काव्यरूपी बगैंचामा अझ सुन्दर कविता पल्लवित र पुष्पित हुँदै जाओस्, शुभकामना । 

(डा. खनाल प्रसिद्ध लेखक, अध्यापक र समीक्षक हुन् ।)
 

ADVADV

सम्बन्धित खबर

Advertise