२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

कविता : इतिहासको समीक्षा

shivam cement
२०८२ असार १४ गते ०६:००
कविता : इतिहासको समीक्षा

– सत्यजीत

हामी जन्मिएका थियौँ
मन्त्र जपको संस्कारमा,
जहाँ शंका गर्नु नै पाप ठानिन्थ्यो ।
‘ब्रह्माले चार वेद बनाएका’ भन्ने पाठ
कण्ठस्थ गरिन्थ्यो–
तर कहिल्यै सोध्न पाइँदैनथ्यो
किन बनाएका त ती वेद ?
कसरी ? कहाँ ? के कारणले ?
प्रश्न– स्वतन्त्रता त्यहाँ निषेधित थियो
जसरी ग्यालिलियोको युगमा
धर्ती गोलो छ भनेर भनिए पनि
पादरीहरू रिसाउँथे !
हामीलाई भनिन्थ्यो–
गायत्री मन्त्रले ब्रह्माण्ड हल्लाउँछ !
तर, जब विज्ञानको दूरबिनले झ्याल खोलेर हे¥यो,
हामीले देख्यौँ–
हिग्स बोसोन कण !
वस्तुलाई तौल दिने तत्व,
ब्रह्म होइन, ब्रह्मा पनि होइन
तर, भौतिक विज्ञानको गहिरो रहस्य ।
हामीलाई सिकाइन्थ्यो–
‘गंगा स्नानले पाप पखालिन्छ !’
तर, लुइ पाश्चरले भने–
ब्याक्टेरिया नुहाएर होइन,
औषधिले मर्छ !
जब प्लेगले गाउँ–सहर भताभुङ्ग पाथ्र्यो,
तब कर्मको फल भनेर चुप लाग्नेहरूभन्दा
शल्य चिकित्सक अगाडि थिए–
सेतो एप्रोनमा, रगतले रंगिएका हात लिएर ।
हामीलाई बताइन्थ्यो–
सप्तर्षिले भविष्य देख्छन् !
तर, हब्बल टेलिस्कोपले देखायो–
भविष्य होइन,
खर्बौँ प्रकाश वर्ष टाढाको अतीत ।
चन्द्रमामा खाल्डा देख्दा
ग्यालिलियो मुस्कुरायो–
अब तिमीहरूको धर्ती केन्द्रित ब्रह्माण्ड सकियो !
धर्ती ‘मायावी माया’ले होइन
गुरुत्वाकर्षणको स्थिर नियमले चलेको हो ।
हामीलाई सुनाइन्थ्यो–
शिवले विष पिएर बने ‘महादेव’ !
तर डार्विनले भने–
जीवन विकासको शृङ्खला हो,
विषलाई सहन प्राकृतिक छनौटले सम्भव बनायो,
र लाखौँ वर्षको संघर्षपछि
हामी यहाँ छौँ ।
शिवको त्रिशूलले ब्रह्माण्ड चल्दैन
न्युटनको तीन नियमले चल्दछ !
हामीले सुनेका थियौँ–
क्रसमा टाँगिएपछि मानवता मुक्त भयो !
तर, जब इतिहासले फाइल पल्टायो
हामीले देख्यौँ
क्रसको नाममा लाखौँ जलाइएका नारीहरू
‘विच’ भनेर जलाइएका बुद्धिहरू ।
कोपर्निकसको गणित जलाइएको थियो–
किनभने त्यो ‘गाँड’को सृष्टिभन्दा सशक्त देखिन्थ्यो ।
हामीलाई भनियो–
कुरान अल्लाहले स्वयं पठाए !
तर, जब हामीले पढ्यौँ इतिहास
हामीले भेट्टायौँ
अल्फ्रेड नोबेलको डायनामाइट,
तर, विज्ञानले त्यसलाई ऊर्जा बनायो
जिहादले भने, त्यसलाई मृत्यु बनायो ।
‘७२ हुरका सपना’ सुनाइन्थ्यो
तर, हाम्रा वैज्ञानिकहरू ‘७२ तत्व’ खोज्दै थिए
पिरीयडिक टेबलमा !
‘धर्ती सात दिनमा बन्यो’ भनिन्छ
तर भूगर्भ शास्त्रको भूचालले भन्यो
अर्बौँ वर्षको क्रमिक प्रक्रिया थियो यो सृष्टि ।
सृष्टिकर्ता एकै जनाले बनाए भनेर मान्नुभन्दा
हामी लाखौँ वर्षका कोशिका–परिवर्तनमा विश्वास गर्छौँ ।
अब ?
अब हामी पुज्छौँ–
मैडम क्युरीको रेडियोधर्मिता
निकोल टेस्लाको बिजुली
एडिसनको प्रकाश
हकिङ्गको ब्ल्याक होल ।
अब हामी सोध्छौँ–
‘ओम’को कम्पनले होइन
आइन्स्टाइनको समीकरणले
अणु फुट्छ कि होइन ?
अब हामी विद्रोह गर्छौँ
तर मूर्तिमाथि होइन,
अन्धविश्वासमाथि ।
क्रान्ति गर्छौँ–
तर जात–धर्मको जात्रामाथि होइन
ज्ञान र विवेकको मशाल लिएर ।
र अन्ततः,
ईश्वर पनि
शायद पहिलो पटक
स्तब्ध हुन्छ ।
आकाशको कुर्सीबाट लरबराउँदै भन्छ–
अब यी मान्छेहरूलाई
म छल्न सक्दिन !
किनकि उनीहरूले मलाई होइन
स्वयं चेतनालाई नै ईश्वर माने ।
अब म तह लगाउन सक्दिन,
किनकि उनीहरू
भौतिकवादी मात्र होइन,
बुद्धिवादी पनि भइसके !
यो हो –
नयाँ युगको संकल्प ।
प्रश्न गर्ने साहस
सत्य खोज्ने विज्ञान
र चेतनाको पूजा !

ADV

सम्बन्धित खबर

Advertise