–प्रह्लाद दवाडी
‘जिन्दाबाद, जिन्दाबाद ।’ दुई जना केटा रोशन सरको आँगनमा आए ।
‘के को जिन्दाबाद ? कसको जिन्दाबाद ?’, रोशन सरले अचम्म मान्दै सोधे ।
‘अब आउने चुनावको लागि नारा लगाउने तयार गरेको नि’ भन्दै पिँढीमा बस्यो धुर्बे ।
‘नानी पाउनु कहिले कहिले, कोक्रो बुन्छ अहिले ।’
‘हैन सर अब भोट आई हाल्छ रे !’, माइलाले उत्तर दियो ।
‘तिमेरको जिन्दगी नारा लाएरै बित्ने रहेछ । अबको पाली कसको नारा लगाउने ?’, रोशन सरले गम्भीर मुद्रामा सोधे ।
‘सर, अब त सबै चिनियो । अब धोखा न खाने विचार गरेका छौँ हामीले’, धुर्बेले माइलापट्टि फर्किएर मुसुक्क हाँस्यो ।
‘हो सर, हाम्रा नेताहरू साह्रै भ्रष्ट भए । भोट अगाडि जिउ जिउ गर्दै आउँछन् भोट जितेपछि हामी गरिब जनताको गन्ती छैन’, माइलाले होस्टे मिलायो ।
‘सर, सबैले आफ्नै दुनो सोझ्याउँछन् । हामी त हेरेको हेरेकै’, धुर्बेले दुःखेसो पोखे ।
रोशन सरले कुण्ठा साम्य गराउन खोजे, ‘जमानै त्यस्तै आयो सबै आफ्नो व्यक्तिगत फाइदा मात्र हेर्छन् ।’
‘सर अब त हामी यो बुढो अनपढ नेताहरूको पछि नलाग्ने । यिनीहरूले देशै बिगारे । अब हामी त सरलाई पो जिन्दाबाद भन्ने ।’ माइलाले प्रस्ताव राख्यो ।
रोशन सरले खुसी हुँदै समर्थन गरे, ‘हो बल्ल बुद्धि आएछ । हामी सबै जागरूक भएर भोट हालौँ, सरकार बदलिन्छ, देश सुध्रिहाल्छ नि । यी बुढा नेतालाई गाली गर्नै पर्दैन ।’
‘भोट हाल्ने त हामी जनता आफै हो नि । अब त मर्दा पनि भोट दिँदैनौँ भ्रष्टाचारीलाई’, धुर्बेले प्रण गर्यो ।
‘भोटको समयमा एक छाक मासु भात रक्सीमा बिकिहाल्छौ, एउटा पञ्चायत त राम्रो छान्दैनौ के देशको नेताको कुरा गर्छौ ? एकातिर काम अर्को तिर कुरा । तिमीहरूको भर चाहिँ लाग्दैन’, रोशन सरले यथार्थ ओकले ।
‘सर अब त चेतियो । आफ्नो अधिकार बेचिँदैन’, माइलाले कसम खायो ।
‘त्यस्तो आत्मघाती काम गरिँदैन अब’, धुर्बेले सहमति जनायो ।
‘पक्का हो ?’
‘पक्का हो सर, भोट बेचेर मासु भातसँग धोका खाँदैनौँ । हामी सघाउँछौँ, सर भोटमा उठ्नुपर्छ । रोशन सर जिन्दाबाद’, धुर्बे जोडले करायो ।
त्यत्तिकैमा धुर्बेको मोबाइलमा मेसेज आयो । माइला र धुर्बे दुवै जनाले मेसेज हेरे ।
‘सर, नरेशले भोज खुवाउँदै रहेछ । हामी काम कुरो बुझेर आउँछौँ’, भन्दै दुवै जना ज¥याक जुरुक्क उठेर हिँडे ।