बझाङ : जिल्ला खेलकुद समिति बझाङले आयोजना गरेको एथ्लेटिक्स प्रशिक्षण तथा रेफ्री तालिम सम्पन्न भएको छ । पुस १४ गतेदेखि सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण विष्टले खेलकुदले युवाहरूलाई अनुशासनमा राख्दै देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गर्ने बताए । उनले यस्तो तालिमले जिल्लामा खेलकुदको स्तर विकासमा नयाँ दिशा दिन सक्ने विश्वास व्यक्त गरे ।
तालिम प्रशिक्षक राष्ट्रिय खेलकुद परिषद्का एथ्लेटिक्स प्रशिक्षक धनीराम चौधरीले प्रशिक्षणले खेलाडीहरूलाई प्राविधिक रूपमा दक्ष बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी गराउन सहज बनाउने बताए ।
तालिममा सहभागी पदमराज जोशीले सहभागीको तर्फबाट बोल्दै तालिममा सिकेको ज्ञान प्रयोग गर्दै जिल्लाको खेलकुद क्षेत्रमा योगदान पुर्याउने प्रतिबद्धता जनाए । जिल्ला खेलकुद समिति बझाङका अध्यक्ष पुष्पलाल रोकायाले जिल्लामा खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आगामी दिनमा थप कार्यक्रमहरू संचालन गर्ने योजना रहेको बताए । सो अवसरमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।