अर्घाखाँची : लुम्बिनी प्रदेश सभा भौतिक पूर्वाधार विकास समितिका सभापति सांसद रामजीप्रसाद घिमिरेले साथी बहुउद्देश्यीय सहकारी संस्था लिले अर्घाखाँचीको आर्थिक समृद्धिको लागि बलियो आधार हुन सक्ने बताएका छन् । उनले सहकारीबाटै रोजगारी सहित आयआर्जनका काम गर्न सकिने बताए ।
साथी बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधाराण सभालाई सम्बोधन गर्दै सांसद घिमिरेले गाउँमा उत्पादित मह, ध्यू, कोदो, मकै, दाल, गेडागुडी, फलफूल लगायतका खाद्यवस्तु कृषकबाट खरिद गरेर सन्धिखर्कमा रहेको बिक्री केन्द्रबाट बजारीकरण गर्दा गाउँका कृषकलाई फाइदा पुगेको बताए ।
‘सहकारीले बचत संकलन गर्ने मात्रै होइन, अब आर्थिक गतिविधिका काममा अग्रसर बन्नुपर्छ,’ उनले भने, ‘प्रदेश सरकारबाट साथी बहुउद्देश्यीय सहकारीलाई सक्दो सहयोग गर्छु, गाउँमा उत्पादन भएको वस्तु खरिद गरिदिँदा बाँझा खेतबारीमा अन्न उत्पादन हुने र स्थानीयलाई आम्दानी हुँदा गाउँ स्वरोजगार उन्मुख हुनसक्छ ।’ गाउँमा कृषि कृषि उत्पादन हुँदा अर्गानिक खाद्यवस्तु र स्वस्थ्य खाना उपभोक्ताले पाएको घिमिरेको भनाइ छ ।
सहकारी क्षेत्रमा पछिल्लो समय अपचलन गर्ने कुरा उठेको र सो विषयबाट बिचलित नभई अगाडि बढ्नुपर्ने र अपचलन गर्ने व्यक्तिहरू कानुनी दायरामा जाने बताए । ‘यो सहकारी अभियानले समाजवाद स्थापना गर्ने हो,’ उनले भने, ‘सहकारी सबैको साझा अभियान पुग्यो भने, छिटै नेपाल समाजवादमा जानसक्छ, सहकारी बलियो हुनुपर्छ, अगाडी बढ्नुपर्छ ।’
कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले साथी सहकारीले उदाहरणीय काम गरेकाले ज्ञान केन्द्रबाट हुने हरेक सहयोग गर्ने र साथीको वृद्धि विकासका लागि आफू प्रदेश सरकार मन्त्रालयको ढोका पनि ढक्ढकाउने बताए । जिल्लालाई परिवर्तन गर्ने एउटा आधार सहकारी भएकाले साथी बहुउद्देश्यीय सहकारीलाई औजार, मेसिन लगायतका कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने घिमिरेको भनाइ छ ।
जिल्ला सहकारी संघका अध्यक्ष एवं साथी बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार प्रकाश भुसालले २०६१ सालमा अर्घाखाँची युवा परिषद् गठन गरी सामाजिक काम सुरु गरी २०६९ सालमा चुत्रावेशीमा साथी बचत तथा सहकारी संस्था स्थापना गरेर काम गरेर अहिले सहकारीले उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले साथी बहुउद्देश्यीय स्थापना गरेको बताए । गाउँमा उत्पादित वस्तु बजारमा माग बढी भएर खोसाखोस भएपनि जिल्लामा उत्पादित वस्तु प्रयाप्त नभएको उनको भनाइ थियो ।
त्यस्तै, कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख दुर्गा न्यौपानेले नमूना काम गरेका सहकारीलाई प्रदेश सरकारमा प्रयाप्त बजेट नभएकाले सक्दो सहयोग गर्न नसकेको बताइन् । कार्यक्रममा बचत संघका अध्यक्ष द्रोणप्रसाद भुसाल, सहकारी अभियान्ता लक्ष्मण कंडेल, पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा संस्थाको गतिविधिका बारेमा उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसीलाई सम्मान गरिएको थियो । केसीलाई प्रदेश सांसद रामजीप्रसाद घिमिरेले सम्मान गरेका थिए । कार्यक्रम साथी बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालको अध्यक्षता, उपाध्यक्ष गोमा सापकोटाको स्वागत र सचिव धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।