२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ओलीको असन्तुष्टि

ADV
मुकुन्द लामिछाने
२०८१ जेठ २० गते ११:२३
ओलीको असन्तुष्टि

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सत्तारुढ दलहरुसँग प्रयाप्त छलफल नै नगरी आगामी आर्थिक बर्षको बजेट ल्याएको टिप्पणी गरेका छन् । 

बजेटमाथिको छलफलमा भाग लिनु अगाडि सांसदहरुलाई प्रशिक्षित गर्न एमालेले शनिवार पार्टीको संसदीय दलको बैठक राखेको थियो । उक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  बजेटप्रति असन्तुष्टि जनाएका हुन् । 

एमाले वर्तमान सत्ता गठबन्धनको प्रमुख घटक हो । यही दलका अध्यक्ष ओलीले सरकारले ल्याएको बजेट अर्थमन्त्री वर्षमान पुन र सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको जस्तो हुन पुगेको टिप्पणी गरेका हुन् । 

‘...सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि ? अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलि बढ्ता देखिन गएको छ’ ओलीले भने । 

अध्यक्ष ओलीले सरकारले माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएको भन्दै अर्थमन्त्री पुनको आलोचना गरेका हुन् ।बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माणको प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको आरोप लगाए ।

ओलीले भनेका छन्, ‘...रकमको बाँडफाँट पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ । यो कमी रहेको छ । यसको निर्माण प्रक्रियामा नै कमी रह्यो, जसले गर्दा त्यो कमी नरहनु पर्दथ्यो, रहन जाँदा यसमा गम्भीर त्रुटिहरू रहे ।’  

संसदमा बजेटमाथिको छलफलमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बोल्दै ओलीले भनेका छन्, ‘हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रुपमा कस्तो दिशा समातेको छ ? यी विषयहरुमा केन्द्रित भएर छलफल गर्नेछौँ ।’ 

विनियोजनको सन्दर्भमा पछि गर्ने उनको भनाई छ । उनले भनेका छन्, ‘विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुन–कुन मन्त्रालय कस्तो विनियोजन भयो ? र त्यसमा कुन–कुन कार्यक्रममा के भएको छ ? कुन नयाँ थपिएको छ, कुन पुरानो जारी छ ? कुन कटौती गरिएको छ ? कुन पूरा भयो, कुन अपुरैमा कटौती भयो ? नाम मात्रैको आयोजना राखियो तर बजेट छुट्याइएन कि ? कहाँ कस्ता कमी रहे, त्यसलाई पनि हेरिनेछ ।’ 

एमाले अध्यक्ष ओलीले बजेटमा कमी औँल्याए पनि त्यसलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको स्पष्ट पारे । सरकारले प्रस्तुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि उनले बताए । बजेटको समर्थन गरेर अघि बढ्न उनले पार्टीका सांंसदहरूलाई निर्देशन दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise