रौतहट : नेपाल संघीय समाजवादी पार्टीको जिल्ला भेला तथा पार्टी प्रवेश कार्यक्रम रौतहट गरुडा नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीको संगठनात्मक संरचना विस्तार र आगामी कार्यदिशाबारे गहन छलफल गरिएको थियो ।
जिल्ला भेला अन्तर्गत रौतहट जिल्लाका १ देखि ४ निर्वाचन क्षेत्रकाहरु क्षेत्रीय अध्यक्षहरूको चयन गरी निकट भविष्यमा क्षेत्रीय भेला गर्ने निर्णय गरिएको छ ।
क्षेत्रीय भेलापछि जिल्ला स्तरीय भेला आयोजनाको योजना बनाइएको यसले पार्टीको संगठनलाई थप बलियो बनाउँदै जिल्ला स्तरमा एकीकृत रूपमा अगाडि बढ्ने मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।
कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका रौतहट जिल्ला अध्यक्ष अनिशुर रहमानसहित सम्पूर्ण जिल्ला पदाधिकारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व संघीय गृह राज्यमन्त्री रिजवान अन्सारी रहेका थिए ।
त्यसैगरी मधेश प्रदेशका पूर्व गृह, सञ्चार तथा कानुनमन्त्री विमला अन्सारी, जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद साह, मौलाना अनीसुर रहमान र मौलाना नसिर लगायत अन्य थुप्रै नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख नेताहरूले संगठनात्मक एकताका लागि सक्रिय रूपमा योगदान गर्न कार्यकर्ताहरूलाई प्रेरित गरेका थिए ।
पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारीले संघीय समाजवादी पार्टीले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले पार्टीले मधेशी समुदायका मुद्दाहरू मात्र नभइ सम्पूर्ण नेपाली जनताको हितमा काम गर्ने बताए ।