२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

सांगीतिक प्रस्तुति दिन कन्दरा ब्यान्ड कतार आइपुग्यो

ADV
तिलु शर्मा पौडेल
२०८१ पुष २४ गते १९:२८
सांगीतिक प्रस्तुति दिन कन्दरा ब्यान्ड कतार आइपुग्यो

दोहा, कतार : आफ्नो सांगीतिक यात्राको ३२औं वर्षगाँठको अवसरमा ‘पहिला घरदेखि अनि परदेश’को नारासहित विश्व भ्रमणमा निस्केको सांगीतिक ब्यान्ड ‘कन्दरा’ बुधबार बिहान कतार आइपुगेको छ । ‘कन्दरा’ले आउँदो १७ जनवरीमा कतारको ‘प्लानेट लन्ज एन्ड क्लब’मा प्रस्तुति दिँदै छ ।

बेलायतको सांगीतिक कार्यक्रम सकेर कतार आइपुगेको ब्यान्डलाई कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । ब्यान्डको स्वागतका लागि कार्यक्रम संयोजक रोशन अर्यालसहित सञ्चारकर्मी तथा अन्य व्यक्तित्वहरू विमानस्थल पुगेका थिए । विमानस्थलबाट ब्यान्डसहित गायक विवेक श्रेष्ठले १७ तारिकका लागि कतारवासी नेपालीहरूलाई चुल्हे निम्तो गर्दै कतारको नेपाली संगीतको आकाशमा इतिहास कोर्न आग्रह गरेका छन् ।

कन्दराका ‘तिमी पारी’, ‘चन्चले कान्छी’, ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ जस्ता गीत प्रस्तुत हुनेछन् । कन्दराले आत्मसात गरेको लोक पप धुनहरू आजपर्यन्त लाखौं शुभचिन्तक र दर्शकको रोजाइमा छन् । क्लबका सञ्चालक प्रवीण गुरुङले नेपाली संगीत धरोहरको रूपमा रहेको कन्दरा ब्यान्डको यस ऐतिहासिक साँझको हिस्सा बनी नेपाली गीत सङ्गीत प्रवर्द्धनमा सरिक बन्न सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा प्रवेशका लागि भिआइपी १००, पुरुष ७० र महिलाका लागि ३५ कतारी रियालको टिकट लाग्नेछ भने भिआइपी टेबलका लागि पूर्व बुकिङसमेत खुला गरिएको र पूर्व बुकिङ गर्नेका लागि विशेष छुट मिल्ने कार्यक्रम संयोजक अर्यालले जानकारी दिए । अर्यालले कार्यक्रमका लागि क्लबको ढोका साँझ ६ बजेबाट खुल्ने र साँझ ८ बजेबाट सांगीतिक प्रस्तुति सुरु हुने बताए । दोहाको मुटु मुग्लिनामा रहेको भिआइपी होटेलको मीजाइनिन फ्लोरमा रहेको क्लबमा कन्दराको प्रस्तुति सुरु हुनु पूर्व इन हाउस ब्यान्ड ‘मुन वाकर्स’को धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise