-रहम तुल्ला मियाँ
कोभिड-१९ को संक्रमणले विश्व आक्रान्त छ । यो बढ्दो क्रममा छ । आपसी मतमतान्तरलाई थाती राख्दै ब्यक्तिगत र संस्थागतरुपमा यसकोविरुद्धमा लाग्न जरुरी छ । केही सुझबुझको कमि र केहि स्वार्थी पत्रकारको कारणबाट कोरोना र तब्लिगी जमाअतको सन्दर्भमा केही अफवाह र भ्रम सृजना गरे गराइए पनि यसले सामान्य रुपधारण गरिसकेको छ।
नेपालको संविधान २०७२ को धारा २६४ ले नेपालमा मुस्लिम समुदायको ईतिहास, संस्कृतिको पहिचान, हकहित संरक्षण र सम्बर्द्धन तथा सशक्तीकरणको लागि संवैधानिक मुस्लिम आयोगको ब्यवस्था गरेको छ, जुन सुखद कुरा हो । मुस्लीम आयोग ऐन २०७४ ( संसोधन ऐन २०७५ ) ले आयोगको काम कर्तव्य र अधिकार पनि स्पष्ट गरिसकेको छ । आयोगले पूर्णता नपाउनु द:खद् पक्ष त छँदैछ तर आयोग आफ्नो काम कर्तब्य प्रति अलमलमा वा दिशाहिन वा राजनैतिक छाया वा कुन कारणले हो, गति लिन नसकेर सानातिना कुराहरुमा अलमलिइ रहेको भान हुन्छ ।
मुस्लिमहरुको समग्र स्थितिको अध्ययन गरि उनीहरुको हकहित संरक्षण, सम्बर्द्धन र सशक्तीकरणको लागि नीतिगत र कानुनी सस्थागत सुधारका बिषयमा आवश्यक नीति, योजना तर्जुमा र प्रभावकारी कार्वान्वयनका लागि सरकारलाइ सुझाब र सिफारिस गर्ने, नीति तथा कार्यक्रमको सुझाव र सिफारिस बमोजिम कार्यान्वयनको समीक्षा, अनुगमन र मुल्यांकन गर्ने तथा मुस्लिम समुदायको अधिकार उल्लंघन गर्ने ब्यक्ति वा संस्थाबिरुद्द उजुरी संकलन गरि सो उपर छानवीन वा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने आदि काम , कर्तव्य र अधिकार पाएको मुस्लिम आयोग आफ्नो काम प्रति सचेत छ ? छ भने मुस्लिम हकहितको लागि कतिवटा कुन कुन योजना, कार्यक्रम र सशक्तीकरणको नीतिगत कानुनी, सस्थागत सुधार, हकहित, संरक्षण र सम्बर्द्धनका लागि सुझाब र सिफारिस सरकार समक्ष पेश गर्यो ? पेश गरेका सुझाब र सिफारिसको कार्यान्वयन भए नभएको समीक्षा, अनुगमन र मुल्यांकनको फेहरिस्ता नेपाली मुस्लिम समुदायलाई दिन सक्छ ? सक्दैनभने आफ्नो उपस्थिति देखाउनकै लागि एउटा जल्सा, कन्फ्रेन्स, इज्तेमामा प्रस्तुत भएर फोटो खिचाउदैमा आफ्नो कर्तव्य पूरा भएको ठान्दछ भने उसप्रति भन्नू केही छैन । आयोगबाट भइरहेको मस्जिद मदरसाको अनुगमनले पनि केही प्रश्न उब्जाएको छ ।
के आयोगले मस्जिद मदरसाका सन्दर्भमा कुनै नीति , कार्यक्रम, योजना सरकारसमक्ष पेश गरेको थियो ? त्यो नीति , योजना , कार्यक्रम सरकारबाट लागु गराइ कार्यान्वयनको अवस्थामा थियो ? र , त्यस्को अनुगमन गर्नका लागि खटाइएको हो ? होइन भने आफ्नो भूमिका शून्य भएको ठाउँमा के को अनुगमन ?
मस्जिद मदरसामा कोरोना संक्रमित लुकाएर राखिन्छ , लकडाउनको पालना हुदैन र समितिहरु केही जान्दैनन् भन्ने मान्यतामा अनुगमन गर्न खोजिएको हो ? होइन भने आयोगले सरकारलाई हाम्रा मस्जिद बिशुद्ध प्रार्थना गर्ने ठाउँ हो , यहाँ एक/दुई धर्मगुरु, एक मुवज्जिन, अन्य एक/दुई कामदार हुन्छन् , मदरसा इस्लामी शिक्षा दिने ठाउँ हो र अहिले नेपालका सबै मदरसा लकडाउन संगै बन्द छन् भनेर सम्बन्धित निकायहरुलाई किन बुझाउन सकेन ? यहाँ कुनै पनि अवाञ्छित क्रियाकलाप हुदैनन, हामीले प्रत्येक मस्जिद मदरसा समितिहरुलाई लकडाउनको पूर्ण पालना गर्न टी ओ आरसमेत दिएका छौ, मस्जिदमा उल्लेखित ४/५ जना बाहेक अरु भिडभाड नगर्न, घरमा नमाज पढ्न धर्मगुरुहरुबाट आदेश लिइ निर्देशन गरेका छौं भनेर किन समयमै स्पष्ट गर्न सकेन ? वास्तवमा धार्मिक कुराहरुमा आदेश गर्ने आयोगको अधिकार छैन ,धर्मगुरुहरुको हवाला दिनुपर्छ भन्ने यस पङ्तिकारको बुझाइ हो । आयोगले हाम्रा समितिहरु सक्षम छन , आवश्यकता अनुसार स्थानीय सरकार तथा प्रशासनसंग समन्वय गर्न भनेका छौं भन्ने अडान लिन सक्नु पर्थ्यो ।
यति ठूलो हैसियत भएको संबैधानिक आयोग आफै यी सदियौ देखि दु:ख गरेर, घरघर, बस्तिबस्ती, देशबिदेश घुमेर इस्लामी आर्थिक ब्यवस्था अनुसारका जकात, सद्का तथा अन्य मनकारीहरुको सहयोग संकलन गरि सन्चालन भएका मदरसा र बिशुद्ध नमाज पढ्नेमात्र कामको लागि बिशुद्ध धनबाट चन्दा लिइ बनाइएका मस्जिदहरुको समितिहरुको बिश्वास नभएको र मस्जिद मदरसा मानिस (मुसलमान, मुसलमानले मुसलमानलाई) लुकेका/लुकाइएका, लकडाउनको उल्लंघन गरेको आशंका उब्जिने, मस्जिद मदरसा समितिलाई कमजोर बनाइ गलत सन्देश जाने किसिमले अनुगमनको नाममा कतिपय त मस्जिद मदरसालेसमेत नचिनेका बिशुद्ध राजनैतिक कार्यकर्तालाई लुरुलुरु हिडाएर, मस्जिद मदरसामा डुलाएर आफ्नो उपस्थिति देखाउने माध्यम बनाउनु अघि आयोगले राम्रो सोचबिचार गर्नु पर्दथ्यो ।
कथमकदाचित सूचनाको कमि, अज्ञानता र सुझबुझ अभावको कारणले कोहि कतै अल्झिएर बसेको पाइएको भए वा पाइएमा आयोगका लागि त्यो अभिषाप हुन्छ कि हुँदैन ? त्यसतर्फ आयोग सचेत छ ? यसरी एक्कासी कुनै योजना, नीति, कार्यक्रमबिनाको अनुगमन गर्न संबैधानिक आयोगले ब्यक्तिहरुलाई खटाउछ र खटिने आफ्नो इज्जत र सान बढेको महसुस गरि आज अनुगमन गर्दा यो पाइयो र त्यो पाइयो लकडाउनको पालना गर्न सिकाइयो भनेर फोटो खिचाउँदै हिँड्ने र अनुगमनमा नपरेका र हिड्न नपाउनेले अब मेरो जिन्दगीको यात्रा नै सकियो भनेर अत्तालिएका हर्कतहरु प्रदर्शन गर्छौ भने नेपाली मुसलमानहरुले ब्यक्तिगत र सस्थागत रुपमा आफ्नो अवस्था र हैसियतको राम्रो विश्लेषण गर्नु जरुरी छ ।
(लेखक मियॉ नेपाल मुस्लिम संघ राष्ट्रिय समिति सचिव हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies