काठमाडौँ : चालु आर्थिक वर्ष दोस्रो त्रैमास सकिनै लाग्दा सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ ।
सोमबार आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम कारोबार दिन हो । त्यसको अघिल्लो दिन आइतबार बजार परिसूचक नेप्सेमा २५.४१ अंक (०.९६ प्रतिशत) को गिरावट भएको छ ।
आइतबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत बिहीबार ७ अर्ब नाघेको कारोबार रकम आइतबार भने ४ अर्बभन्दा तल झरेको छ ।
बैंक तथा वित्तीय संस्थामा देखिएको कर्जा असुली समस्या बढ्दै जाँदा दोस्रो त्रैमासमा खराब वित्तीय विवरण आउने शंकाबीच लगानीकर्तामा केही त्रास बढेको छ । जसले गर्दा आइतबार बजार परिसूचकमा उच्च गिरावट देखिएको छ ।
आइतबार नेप्सेमा ४६ हजार ६ सय १४ कारोबारमा ८० लाख २१ हजार ६ सय ६१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाखको कारोबार भएको छ ।