
काठमाडौं : गरिमा विकास बैंकले आफ्नो स्थापनाको २० औं वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्न लागेको छ ।
प्रतियोगिता आगामी मंसिर ५ गते सञ्चालन हुनेछ । स्वस्थ जीवनशैलीको प्रवर्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विकास बैंकले प्रतियोगिता गर्दै आएको जनाएको छ ।
यस वर्षको प्रतियोगितामा खुला र कर्पोरेट तर्फ गरि करिब १५ सय धावकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई आकर्षक नगद पुरस्कारका साथै दौड पुरा गर्ने धावकहरुलाई सर्टिफिकेट र मेडलको व्यवस्था समेत गरिएको छ ।