
काठमाडौं : कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिलाई धनत्रयोदशी अर्थात् धनतेरस भनिन्छ । यस दिन सुनचाँदीलगायत धातु खरिद गर्दा घरमा लक्ष्मीको बास हुने धार्मिक विश्वास छ । यही विश्वासका कारण पछिल्ला वर्षमा नेपालमा पनि धनतेरसका दिन सुनचाँदी किनमेल गर्ने प्रचलन बढ्दै गएको छ ।
धनतेरस नेपालीको मौलिक संस्कृति नभए पनि छिमेकी मुलुक भारतमा प्रचलित सुनचाँदी खरिद गर्ने परम्पराको प्रभाव नेपालमा पनि देखिन थालेको हो । धनका देवता कुबेरको जन्मोत्सवका रूपमा समेत मनाइने यस दिन सुनचाँदीका गरगहना तथा अन्य धातु खरिद गर्दा शुभ हुने मान्यता छ । त्यसैले नेपाली उपभोक्ताले पनि धनतेरसलाई धातु खरिद गर्ने विशेष अवसरका रूपमा लिन थालेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यका अनुसार भारतमा बढी प्रचलित धनतेरसमा सुनचाँदी खरिद गर्ने परम्परा पछिल्लो समय नेपालमा पनि विस्तार हुँदै गएको छ । उपभोक्ताले आफ्नो आर्थिक क्षमताअनुसार सुनचाँदी खरिद गर्ने क्रम बढिरहेको उनी बताउँछन् ।
तिहारका बेला सामान्यतया अन्य समयको तुलनामा सुनचाँदीको कारोबार राम्रो हुने गर्छ । तर पछिल्लो आर्थिक सुस्तता र सुनको मूल्यमा भइरहेको निरन्तर वृद्धिले कारोबारमा असर पारेको व्यवसायीको भनाइ छ । शाक्य भन्छन्, ‘पछिल्लो आर्थिक सुस्तता र सुनको निरन्तर मूल्यवृद्धिले सुनचाँदीको कारोबारमा असर गरेको छ । तर धनतेरस र लक्ष्मीपूजाका दिन सुनचाँदी खरिद गर्ने प्रचलन बढेको छ ।’
व्यवसायीका अनुसार धनतेरसले तिहारका बेला सुनचाँदी बजारमा थप चहलपहल ल्याउने गरेको छ । विगतका वर्षमा धनतेरसका दिन देशभर ५० किलोभन्दा बढी सुन र करिब एक हजार ५०० किलो चाँदी बिक्री हुने गरेको उनीहरूको अनुमान छ । यस वर्ष गत वर्षको तुलनामा कारोबार अझ बढ्ने अपेक्षा गरिएको छ ।
सुनको मूल्यमा आएको पछिल्लो गिरावटले पनि कारोबार बढाउन सहयोग पुग्ने व्यवसायीको विश्वास छ । केही समयअघि प्रतितोला तीन लाख रुपैयाँ नाघेको सुनको मूल्य घटेर बिहीबार दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । मूल्य केही घटेकाले तिहारका अवसरमा सुनचाँदी खरिद गर्ने ग्राहक बढ्न सक्ने शाक्यको भनाइ छ ।
विगतमा तिहारको मुख्य आकर्षण लक्ष्मीपूजाको विशेष पूजाआजा हुने गरे पनि पछिल्लो समय धनतेरसलाई धातु खरिद गर्ने अवसरका रूपमा हेर्ने चलन बढेको छ । धार्मिक तथा सांस्कृतिक विश्वाससँग जोडिएको यस पर्वले नेपाली सुनचाँदी बजारमा नयाँ उपभोक्ता आकर्षित गर्न थालेको छ । आर्थिक सुस्तता र उच्च मूल्यका कारण चुनौती रहे पनि धनतेरस र लक्ष्मीपूजामा कारोबार राम्रो हुने व्यवसायी बताउँछन् ।
धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको छ । बिहीबार र शुक्रबार दुई दिनका लागि बिक्री खुला गरिएकोमा राष्ट्र बैंकले २.५ ग्रामको सुनको असर्फी र १० ग्रामको चाँदीको मेडालियन उपलब्ध गराएको हो । धनतेरसका दिन सुनचाँदी खरिद गर्दा शुभ हुने धार्मिक मान्यताले यस्ता वस्तुको माग बढ्ने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढ्दा त्यसको असर सुनको बिक्रीमा परेको थियो । पछिल्लो समय मूल्य केही घटेकाले धनतेरस र लक्ष्मीपूजाका अवसरमा कारोबार बढ्ने व्यवसायीको अपेक्षा छ ।