दोहा, कतार : लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर कतार आइपुगेकी छन् । नेपाल मगर संघ कतार शाखाको आयोजनामा मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व माघ्या सकराटी (मिनाम सार ल्हेस) ५०१८ मा आफ्नो सांगीतिक प्रस्तुति दिन उनी कतार आएकी हुन् । उनलाई आयोजक मगर संघले कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ ।
विमानस्थलबाट एक भिडियो सार्वजनिक गर्दै गायिका मगरले कतारवासी नेपालीलाई कार्यक्रमका लागि कतारवासी नेपालीहरूलाई चुल्हे निम्ता गरेकी छन् । गायिकाको आगमनसँगै शुक्रबार अबु हमुरस्थित आइडिएल इन्डिएन स्कुलमा १० बजेदेखि हुने वनभोज सहितको सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुकका लागि आयोजकले कतारका विभिन्न स्थलहरूबाट निःशुल्क यातायातको व्यवस्था गरेको छ । यातायातको सहजीकरणका लागि यातायात संयोजक मोतीलाल बुढा मगर ३०१३९०८७ र सह संयोजक नेत्र थापा मगर ३३८५८५६५ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।