२०८१ माघ ५ गते शनिवार / Jan 18 , 2025 , Saturday
२०८१ माघ ५ गते शनिवार
Ads

विदेश जानेको लर्काे, कर्णालीबाट एकै वर्षमा १८ हजार बढी बिदेसिए

hardik ivf
कुलेन्द्र शाही
२०८१ माघ ५ गते ०६:३०
विदेश जानेको लर्काे, कर्णालीबाट एकै वर्षमा १८ हजार बढी बिदेसिए

सुर्खेत : नेपालबाट दैनिक सरदर ४ हजार ७५४ जना नेपाली बिदेसिने गरेका छन् । २०८१ मंसिरसम्म मात्र करिब ११ लाख नेपाली बिदेसिएका हुन् ।
नेपालबाट विभिन्न प्रयोजनमा बिदेसिनेहरूको यो लर्को आउनेभन्दा बढी छ । ८ महिनामा ११ लाख ४१ हजार ९१ जना बिदेसिएका छन् भने आउने ९ लाख ४१ हजार ९४१ जना छन् ।

दैनिक ३ हजार ९२४ जना स्वदेश फर्किने गरेका छन् । यसरी हेर्दा आउने र जाने बीचको अन्तर १ लाख ९९ हजार १५० छ । रोजगार, घुमफिर, व्यवसाय प्रयोजन तथा आफन्त भेटघाटमा बिदेसिने लर्को बढेको छ । यीमध्ये सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेहरू छन् ।

मंसिरमा १ लाख ३८ हजार ८३९, कात्तिकमा १ लाख ३२ हजार ११३, असोजमा १ लाख ४७ हजार ५७१, भदौमा १ लाख ४६ हजार ३९७, साउनमा १ लाख ४० हजार १७, असारमा १ लाख ४० हजार ८९८, जेठमा १ लाख २८ हजार २३, वैशाखमा १ लाख ६७ हजार २३३ गरी करिब ११ लाख ४१ हजार ९१ जना बिदेसिएका छन् ।

यसमा पुरुषको संख्या ८ लाख १२ हजार ८९९ छ भने महिलाको संख्या २ लाख ४८ हजार २२३ जना र अन्यको संख्या ११६ जना छ ।

त्यस्तै, मंसिरमा १ लाख १३ हजार ३५९, कात्तिकमा १ लाख १० हजार ८४१, असोजमा १ लाख ६४ हजार १७, भदौमा १ लाख ३८ हजार ८३८, साउनमा १ लाख ३ हजार ६७९, असारमा १ लाख ९ हजार ७१३, जेठमा १ लाख ५०१, वैशाखमा १ लाख ९९३ गरी ९ लाख ४१ हजार ९४१ जना स्वदेश फर्किएका छन् । यसमा पुरुषको संख्या ६ लाख ९३ हजार ६०२ छ भने महिलाको संख्या ३ लाख २८ हजार १०२ र अन्यको संख्या ९० छ ।

यता, वैदेशिक रोजगार विभागले सन् २०२४ मा मात्र ३ लाख ५४ हजार ८१ जनाले श्रम स्वीकृति लिएका जनाएको छ । यसमा ३ लाख १८ हजार ९६८ पुरुषले श्रम स्वीकृति लिएका छन् भने ३५ हजार ११३ महिला छन् । 

कर्णाली प्रदेशमा स्वदेशमा रोजगारीका अवसरहरूको अभावले बर्सेनि वैदेशिक रोजगारीमा जाने नागरिकहरूको संख्या बढ्दै गएको छ । हालैको नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कर्णाली प्रदेशबाट १८ हजार ६७० नयाँ श्रम स्वीकृति लिई विदेश गएका छन् भने पुनः श्रम स्वीकृतिसहित २४ हजार १७५ जनाले वैदेशिक रोजगारीको अवसर प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशका अधिकांश जिल्लाबाट नागरिकहरू विदेश जाने क्रममा छन् । गत आर्थिक वर्षमा कर्णालीमा सबैभन्दा धेरै सल्यानबाट ५ हजार ३९४ जनाले श्रम स्वीकृति लिएका छन् । 

सबैभन्दा कम डोल्पाका ४४८ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, दैलेखबाट ३ हजार २३०, हुम्लाबाट ५१२, जाजरकोटबाट २ हजार ३९६, जुम्लाबाट ९५६, कालीकोटबाट ८९५, मुगुबाट ५३७, रुकुमपश्चिमबाट २ हजार ६४१ र सुर्खेतबाट ५ हजार ३९४ जनाले श्रम स्वीकृति लिएका छन् । 

नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०)को प्रतिवेदनअनुसार कर्णाली प्रदेशको गरिबीको दर २६ दशमलव ६९ प्रतिशत छ । कर्णाली प्रदेशबाट भारतलगायत अन्य वैदेशिक रोजगारीका लागि जानेको संख्या धेरै छ । कर्णालीका धेरै युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा छन् । यसका कारण उनीहरूको आर्थिक उन्नति विदेशबाटै निर्भर छ । कर्णाली प्रदेशमा रोजगारीका अवसर सिर्जना गर्नु ठूलो चुनौती बनेको छ । 

किन जान्छन् विदेश ?

नेपालको जनक्तिको बढ्दो विदेश पलायनले देश निर्माणमा, अर्थतन्त्रमा, रोजगारी सिर्जना र अवसरहरूको सदुपयोगमा ठूलो नकारात्मक असर पारेको छ । नेपालमा युवाहरूको बढ्दो पलायनको तथ्यांकले देशको युवा शक्ति रित्तिने संकेत स्पष्ट रहेको छ ।

यसले गाउँ वा देश मात्र रित्तिरहेको छैन, यसले हाम्रा  सामाजिक मूल्य र मान्यताहरू, साँस्कृतिक संरचनाहरू कतै न कतै कमजोर बनिरहेका प्रस्ट छ । वैदेशिक रोजगारीमा जानु भनेकै देशमा रोजगारीको अवसर नहुनु नै रहेको सर्वसाधारण बताउँछन् । कतिपय व्यक्ति देशमा रोजगार प्राप्त गर्दागर्दै अन्य कारणले बिदेसिने गरेका समेत पाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise