काठमाडौं : आईसीसी यु-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बंगगलादेशले १३ दशमलब २ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
बंगलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन् । सुमैया अत्तरले १२ र अफिया अशिमा इराले नौ रन जोडिन ।
बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक/एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो । नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन् । त्यस्तै सिमाना केसीले १० रनको योगदान दिइन् । अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान पूजा महतो दुई रनमा आउट भइन् भने अलिशा यादवले चार रन बनाइन् । यसैगरी तिर्सना विक र रचना चौधरीले समान तीन/तीन रन बनाउँदा रिया शर्मा पाँच रनमा नटआउट रहिन् ।
बंगलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक/एक विकेट लिए ।
नेपालले आफ्नो दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ ।
प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्तीमा एउटा खेल जित्नुपर्छ । समूहमा नेपालसँगै बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् ।
आजै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले पराजित गरेको छ ।