काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले पठन संस्कृतिको विकासका लागि नियमित पुस्तक प्रदर्शनी सुरु गरेको छ । प्रतिष्ठानको भानुभक्त कक्षमा पठन संस्कृतिको विकासका लागि प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक प्रदर्शनीको समुद्घाटन गरे ।
पुस्तक प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला, इतिहास, दर्शनशास्त्र, समाजशास्त्रलगायतका पुस्तकहरू विक्रीका लागि राखिएको छ । प्रदर्शनीको मुख्य उद्देश्य प्रज्ञा प्रतिष्ठानका पुस्तकहरू पाठकसमक्ष पुर्याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको प्रतिष्ठानको भनाइ छ ।
"सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान" भन्ने मन्त्रका साथ सुरु भएको उक्त प्रदर्शनीमा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू राखिएको छ । समग्रमा हिमाल, पहाड, मधेश-तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका काेशहरू प्रदर्शनी स्थलमा राखिएका छन् ।
प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० प्रतिशत छुट र २०७१ सालयता देखि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरूमा विशेष ४० प्रतिशतको छुट दिइएको छ । शब्दकाेशहरूमा १ प्रति काे २० प्रतिशतदर कम छुट रहेको छ । यस प्रदर्शनी स्थलमा २ हजार थानभन्दा बढी पुस्तकहरू राखिएको छ ।
पुस्तक प्रदर्शनी २०८१ माघ २० गतेसम्म रहनेछ । प्रदर्शनीमा पुन: प्रकाशन भएका अमरकाेश, नेपाली साहित्यकाेश, काैटिल्यकाे अर्थशास्त्र, जाँ ज्याक रुसको कन्फेसन्स, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशीकाे प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङकाे एरिस्टाेटल र उनका काव्यशास्त्र 'पेरी पाेइएतिकेस' लगायतका पुस्तकहरू राखिएको छ ।