दोहा, कतार : नेपाल मगर संघ शाखा कतारको आयोजनामा सम्पन्न ‘माघ्या सकराटी’ संगीत र संस्कृतिमय बनेको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकार लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगरसहित नेपाल मगर सांस्कृतिक परिवारका कलाकारहरूले माघ्या सकराटी (मिनाम सार ल्हेस) ५०१८ लाई संगीत र संस्कृतिमय बनाएका हुन् ।
अबुहमरको इन्डियन आइडियल स्कुलको सभा हलमा करिब १५ सयको संख्यामा उपस्थित नेपालीहरूमध्ये मगर समुदायका मानिस परम्परागत भेषभुषामा सजिएका थिए । कार्यक्रमको प्रांगणलाई तोरण, बेलुन र मालाले झकिझकाउ बनाइएको थियो । मध्याह्नबाट सुरु भएको कार्यक्रमको रौनक रातको ८ बजेसम्म नै चलिरह्यो ।
कार्यक्रममा अतिथि कलाकार लामिछाने चम्पा चमेली गीत गाउँदै स्टेज चढिन् । उनले कुर्सीमा बसिरहेका कार्यक्रमका प्रमुख अतिथि, सभापतिसहित दर्शकलाई एकसाथ नाच्न बाध्य पारिन् । रुमाल धोएर, घरमा पराल बारीमा बन्सो, देउन रुमाल बैना, फूल फुलेर पहेँलै, यसै त डल्ली नाच्चु हल्लीहल्लीलगायतका गीतहरू पहिलो चरणमा पेस गरिन् । प्रस्तुतिका बीचबीचमा उनले वास्तविक जीवनमा आफू विवाहित भए पनि कतारमा आफू सिंगल नै रहेको भन्दै युवाहरूको मनको ढुकढुकी बढाइन् ।
दुई चरण गरेर स्टेज चढेकी गायिकाले डेढ घण्टा गीत मात्र गाइनन्, कम्मर मर्काएर नाचिन् पनि । उनीसँग स्टेजमै चढेर फोटो खिच्नेदेखि सिरफूल लगाइदिनेसम्मका दर्शकलाई आफूसँगै नचाउँदै पूर्ण मनोरञ्जन प्रदान गरिन् ।
संघ शाखा कतारका अध्यक्ष रेशम आले मगरको सभाध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष डीएन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, पूर्वअध्यक्ष तथा विशिष्ट अतिथिहरूलाई खादा र फेटाद्वारा सम्मान गरिएको थियो । नेपालका प्रथम शहीद लखन थापा मगर र ज्ञात अज्ञात शहीदको सम्झनामा मौन धारण समेत गरिएको थियो ।
नेपाल मगर सांस्कृतिक परिवारमा आबद्ध रहेका कलाकारहरूले स्वागत नृत्यसहित एरिया विभाग तथा समितिमा रहेका कलाकारहरूले सालै जो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या तथा अन्य संस्कृति झल्काउने एकल तथा सामूहिक नृत्य पस्केका थिए । सुरेश बिसी, रेश्मी सेन्चुरी, शिवराम ढकाललगायतका कलाकारहरूले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए । जनजाति समुदायको परम्पराअनुसार मगर संघलाई नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध रहेका मातृसंस्थाहरुले सद्भाव प्रकट गर्दै सगुन स्वरूप (कोसेली) उपहार प्रदान गरेका थिए ।
नेपाल मगर महिला विभागकी सचिव रबिना मगर र संघका महासचिव समीर थापा मगरले मिलेर सहजीकरण गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगरले विगतका वर्षहरूमा भन्दा यो वर्षको सांस्कृतिक पर्व माघ्या सकराटी (मिनाम सार ल्हेस) ५०१८ भव्य भएको बताए । कार्यक्रमलाई सफल बनाउन विभिन्न कोणबाट सहयोग गर्ने सहयोगीहरूसहित कलाकारहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । संघकी उपाध्यक्ष देवीकुमारी मगरले स्वागत मन्तव्य राखेको कार्यक्रम तथा माघ्या सकराटीका बारेमा कार्यक्रमका संयोजक कुमार राहादी मगरले प्रष्ट पारेका थिए । माघ्या सकराटी कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्दै सभाध्यक्ष आले मगरले सम्पूर्ण कार्यक्रमलाई समापन गरेका थिए ।
सकराटी पर्वले धार्मिक सांस्कृतिक सद्भाव बढाउने, सामाजिक रीतिरिवाजको जगेर्ना गर्नेलगायत आपसी भाइचारा कायम राख्न पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक, साहित्यिक, संघ संस्थाहरूका प्रमुख, प्रतिनिधिहरूसहित समाजका अग्रज तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।