काठमाडौं : भारतमा जारी खो खो विश्वकपअन्तर्गत नेपालको महिला तथा पुरुष दुवै टिम फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनलमा युगान्डालाई हराउँदै महिला टिम फाइनलमा पुगेको हो भने इरानलाई हराउँदै पुरुष टिम फाइनलमा पुगेको हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा महिलातर्फ नेपालले युगान्डालाई ८९–१८ ले पराजित ग¥यो । नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो ।
महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो । यसैगरी क्वार्टरफाइनल खेलमा नेपालले इरानलाई १०३–८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
पुरुषतर्फ नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर हलमा भएको खेलमा नेपालले इरानलाई ७२–२० अंकको अन्तरले हरायो । पुरुर्षतर्फ नेपाल समूह चरणको पहिलो खेलमा भारतसँग पराजित हुँदा दोस्रो खेलमा पेरू, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो ।
नेपालको टोली कुनै पनि खेलको विश्वकपमा फाइनल पुगेको यो पहिलोपटक हो । त्यसमा पनि महिला र पुरुष दुवै टोली फाइनलमा पुग्दै इतिहास रचेको छ ।