काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा दिएको बैदेशिक ऋण र अनुदान निकै कम प्राप्त भएको छ ।
अर्थमन्त्रालले आइतबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तक्रियामा ६ महिनाको प्रमुख आर्थिक परिसूचकमा वैदेशिक ऋण र अनुदान लक्ष्यअनुसार निकै कम भएको देखिएको हो । चालु आर्थिक वर्षमा ५२ अर्ब ३३ करोड वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेपनि ६ महिनामा ७ अर्ब ७२ करोड रूपैयाँ मात्र आएको छ ।
जुन वार्षिक लक्ष्यको १४.८ प्रतिशत मात्रै हो । यस्तै वैदेशिक ऋणको अवस्था समेत निकै कम छ । चालु आर्थिक वर्षमा २ खर्ब १७ अर्ब ६७ लाख लिने लक्ष्य राखेपनि ६ महिनामा ४१ अर्ब ३७ करोड वैदेशिक ऋण नेपालले प्राप्त गरेको छ । जुन लक्ष्यको १९ प्रतिशत मात्रै हो । सरकारले ठूलो आधारको बजेट ल्याउनका लागि राजस्वले मात्र नपुग्ने भनेपछि अनुदान र ऋण लिने लक्ष्य राख्ने गरेको छ ।
सरकारले लिएको लक्ष्यअनुसार कहिल्यै अनुदान र ऋण नआएपछि बजेटको आकार घटाउने काम परम्परा जस्तै बनेको छ । चालु आर्थिक वर्षमा कुल वैदेशिक सहायता २ खर्ब ७० अर्ब लिइएको थियो । तर, चालु आर्थिक वर्षको ६ महिनामा १८ दशमलव २ प्रतिशत अर्थात् ४९ अर्ब ७ करोड मात्र वैदेशिक सहायता प्राप्त भएको छ । तर, अर्थतन्त्रको ६ महिनाको अवस्था हेर्दा गत वर्षको सोही अवधिको तुलनामा केही सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म वस्तु आयात ७.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा ८ खर्ब २२ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा ७ खर्ब ६८ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत वर्ष पुस मसान्तसम्मको तुलनामा समीक्षा अवधिमा आयात ३.१ प्रतिशत बढेको देखिन्छ । यस्तै समीक्षा अवधिमा वस्तु निर्यात ३१.८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ९८ अर्ब ७९ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ भने गत वर्षको पुससमान्तसम्म ७५ अर्ब रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख भएको भन्दै सुधारका प्रयासमा आफू लागि रहेको बताए । अर्थमन्त्री पौडेलले भने ‘हामीले आर्थिक सूचकहरूमा तलमाथि गरेका छैनौं तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ, आर्थिक परिसूचक अहिलेको भन्दा पहिला नकारात्मक थिए, ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिशामा डोहोर्याएका छौं ।’ यस्तै, अर्थमन्त्रीले सरकारले अध्यादेशमार्फत् कानुन संशोधनले निजी क्षेत्रलाई अगाडि बढाउने प्रयास गरिएको बताए ।