काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम अन्ततः नेकपा एमालेमा फर्किने भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)मा समाहित हुन पछिल्लो समय नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरिरहेका गौतमले अब एमालेमा फर्किने निर्णय गरेका हुन् । एमाले प्रवेश गर्ने पटकपटकको प्रयासले सार्थकता नपाएपछि गौतमले एकीकृत समाजवादीतिर जाने मन बनाएका थिए ।
यसअघि २०८० असारमा गौतम एमालेमै समाहित हुन तयार भइसकेका थिए । त्यतिबेला गौतमले एमालेमा समाहित हुन अध्यक्ष ओलीपछिको दोस्रो वरीयता मागेका थिए तर त्यसमा कुरा नमिलेपछि उनी रोकिएका थिए ।
एमालेमा प्रवेश गर्ने चाहना पूरा नभएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग पार्टी प्रवेशका विषयमा पटकपटक छलफल गरेका उनी बरिष्ठ नेता भएर जाने निश्चित जस्तै भइसकेको थियो । तर, अरू जिम्मेवारी भने टुंगिएको थिएन ।
हालै बसेको एमालेको केन्द्रीय कमिटी बैठकले विभिन्न समयमा पार्टीबाट अलग भएका नेताहरूलाई पार्टीमा फिर्ता हुन आह्वान गरेपछि गौतमले एमालेमा फर्किने मन बनाएका हुन् ।
आइतबार एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएपछि गौतम एमालेमा फर्किने निर्णयमा पुगेका हुन् ।
२०७८ साउनमा एमाले विभाजित भएपछि उनले १८ भदौ २०७८ मा पार्टी छाडेका थिए । काठमाडौंमा भएको नवौं महाधिवेशनमा उपाध्यक्ष बनेका उनले ओलीसँग तीव्र असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए ।
अध्यक्ष ओलीसँगको छलफलपछि गौतमले अब एकीकृत समाजवादीसँग यसबीच भएका वार्ताहरूको औचित्य सकिएको बताए । ‘माधवजीसँग पटकपटक कुराकानी भयो तर एकीकृत समाजवादीबाट कतिपय आशंका जस्तो व्यक्त गर्ने काम पनि भयो’, गौतमले भने, ‘अब एमालेमै लाग्ने भएँ ।’
गौतमले नेकपा एससँग गर्ने भनेको एकता प्रक्रियाको ‘च्याप्टर क्लोज’ भएपछि एमालेसँग एकता गर्न लागेको बताए । ‘उता, एकीकृत समाजवादीसँग च्याप्टर क्लोज भयो । त्यसपछि एमालेसँग एकता गर्न लागेको हो’, गौतमले भने ।
१ वर्षदेखि एमालेमा जान लामो समय रस्साकस्सी गरेका गौतम अध्यक्ष ओलीले वास्ता नगर्दा रोकिएका थिए । गएको निर्वाचनमा समेत धक्का बेहोरेका गौतमले एमाले–माओवादीको एकतालाई जोड्ने दाबी गर्दै तत्कालीन नेकपा विभाजनपछि ‘नेकपा एकता राष्ट्रिय अभियान’ भन्दै त्यसको संयोजक बनेका थिए ।
एमालेमा गौतमले बरिष्ठ नेता वा संरक्षकमध्ये एक पद पाउने सम्भावना छ ।
पछिल्लो समय एमालेमा प्रवेश हुने कुनै संकेत नै नमिलेपछि गौतम एमालेबाट छुट्टिएको नेकपा एसमा प्रवेश गर्ने निचोडमा पुगेका थिए । यसका लागि उनले महासचिव डी. बी. कार्कीको नेतृत्वमा ३ सदस्यीय वार्ता समिति पनि बनाए । तर, उनले समितिलाई निष्क्रिय बनाएर स्वयं अध्यक्ष नेपालसँग छलफल गरे ।
१७ पुसमा गौतमले नेकपा एससँग एकताको समझदारी गरेका थिए । गौतम र नेकपा एसका अध्यक्ष नेपालले एकताका लागि सैद्धान्तिक सहमति भएको बताएका थिए ।
छिनछिनमै धारणा बनाउने र जता जसले पहिले बोलाउँछ, त्यतै जाने भनिरहेका गौतमाथि राजनीतिक विश्वास कम हुँदै गएको स्थिति बनेको थियो ।
फुट्यो नेकपा एकता राष्ट्रिय अभियान
गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियान फुटेको छ । गौतम एमालेमा जाने भएपछि असन्तुष्ट केही नेताहरूले नेकपा (माओवादी केन्द्र)मा जाने घोषणा गरेका छन् ।
उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय समिति सदस्यहरूले गौतमबाट अलग भएको घोषणा गरेका छन् ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेका हुन् । अर्याल अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले पनि गौतमको साथ छाडेका छन् ।
उनीहरूले एकता र समायोजनका लागि विचार मिल्ने माओवादी केन्द्रलगायत विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने बताएका छन् । त्यसका लागि ४ सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन् । वार्ता समितिको संयोजकमा अर्याल आफैं छन् भने काफ्ले, सुब्बा र भट्टराई समितिमा सदस्य छन् ।
गौतम निःशर्त एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको उनीहरूले बताएका छन् । एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरूको निष्कर्ष छ ।